त्यो बेलाको भैलो टोली !

काठमाडौं । पल्लो गाउँका बाजे टोलबहादुर कुमालको घरबाट मादल लिएर सुरक्षित राखेपछि गाउँभरका केटाहरू तल चौतारीमा जम्मा हुन्थे। अनि सुरू हुन्थ्यो तिहारको चहल–पहल।

नवराजले लिस्ट बनाउँथे, भीमले कार्य विभाजन गर्थे। अनि घने र तारेले भैलो खेल्ने टोलीको छनौट गर्थे। उलाई सामेल नगराउने, उलाई गराउने भन्दै टोलीमा पर्न पनि बडो मुश्किल हुन्थ्यो।

‘उसले बोरा बोक्छ’ कार्य–विभाजन गर्ने भीमले मेरो नाममा भिडाउने गर्थ्यो। जो हरेक वर्ष मेरा भागमा परिरह्यो।

मेरो भागमा सधैं बोरा पर्दथ्यो। मलाई न भट्याउन आउँथ्यो, न त गाउन, नाच्न। केही सीप नभएकाहरूको मुख्य काम हुन्थ्यो बोरा बोक्नु।

दस मिनेट भट्याएपछि पाइने दक्षिणा भनेकै एक माना चामल हुन्थ्यो। त्यही चामल बोरामा खन्याउँदै अर्को घर हिँडिन्थ्यो।

दक्षिणाको रूपमा कसै कसैले पैसा पनि दिन्थे। तर पैसा दिनेहरूले आधा घन्टा नचाउँथे। त्यो पनि व्यक्ति रोजी रोजी, उनीहरूले छानेकै गीतमा।

‘फलानो नाच्यो भने पाँच रुप्पे थपिदिन्छु’ भन्दै लोभ देखाउनेहरुकै कारण हाम्रो भैलो ग्रुपमा झगडा समेत पर्दथ्यो।

‘त साले ननाचेर त हो, नत्र अंकलले दस रुप्पे दिन्चु भन्याथे’ भन्दै कति जनाको गाली मैले प्रत्येक भैलोमा खेप्ने गरेको छु। तर नाचेको छैन। त्यसैले पनि प्रत्येक वर्षको भैलो टोलीले मलाई मन नलागे ननाच्ने तर बोरा अरुले नबोकिदिने शर्त राख्दथे। मैले सहजै स्वीकार्थेँ।

चौतारीमै बसेर भैलो टोली तयार गर्दा जिम्मेवारी बाँडफाँड पनि सकिन्थ्यो। लगभग तीन गाउँका केटाहरु जम्मा भएर तयार भएको भैलो टोलीमा सबैभन्दा महत्वका व्यक्ति हुन्थे ज्ञानु।

नाच्न, गाउन अनि बजाउन सिपालु ज्ञानुलाई अर्को टोलीले पनि सामेल गराउन खोज्दथ्यो तर उनी हाम्रै टोलीमा बस्दथे।

मादल बजाउन जान्ने व्यक्ति भएन भने भैलो टोली बन्दैनथ्यो उ बेला, आजभोली जस्तो अडियोमा नाच्ने चलन थिएन। जे हुन्थ्यो, प्रत्यक्ष हुन्थ्यो। मादलको तालमा हातको थपडी अनि गीतको बीचमा ‘ओ होइ! चैट चैट चैट।’

हिन्दुहरुको महान चाड दसैं भन्थे सबैले। पढाउने सरले पनि सबैभन्दा ठूलो पर्व दशैं भनेर पढाउँथे। तर त्यतिबेला हाम्रा लागि तिहार सबैभन्दा ठूलो पर्व थियो।

कुर्सीमा अड्काएर फिट गरेको सिन्कामारी मेसिनमा काम पाउनु पनि ठूलै रहरको कुरा हुन्थ्यो। कसौडीमा पाकेको रङ्गिन पिठोको बल बनाउँदै सिन्कामारी मेसिनमा कोच्ने काम होस् या बनेको सिन्कामारीलाई प्लेटमा थापेर सुकाउन लैजाने काम होस, खुब रहरका साथ गरिन्थ्यो।

भोक यति लाग्थ्यो कि त्यही सिन्कामारी बनाउने पिठो मज्जाले खाइथ्यो। आमा रिसाउँदै भन्नुहुन्थ्यो ‘जुका परेर मोर्लास, कति नटेरेको होला।’

हामीलाई भोलि जुका परेर मर्ने डरभन्दा भोकमा त्यो सिन्कामारीको पिठो मन पर्दथ्यो। जुका परे औषधि गर्ने बा छँदैछन्।

घरको छानामा, बारीमा अनि बार्दलीमा रङ्गीबिरङ्गी सिन्कामारी र पपरा सुकाईन्थ्यो। त्यो देख्दा लाग्थ्यो, तिहार अलि पल्तिरसम्म आइसकेछ।

भैलो समूहमा एकदुई जना केटीहरुलाई पनि मिसाइन्थ्यो। केटीहरु गाउन अनि भट्याउन सिपालु हुन्थे। गाउँकै निर्मला दिदी, मिरा अनि मिना हाम्रा टोलीमा सामेल हुने दिदिबहिनी हुन्।

सुर्केवा टोलका गाईहरुले तल गौचरणमा नुन खाएपछि बल्ल सुरु हुन्थ्यो हाम्रो भैलो कार्यक्रम।

लक्ष्मी पूजा गरेपछि मात्र भैलो खेल्नु पर्छ भनेर हाम्रा अभिभावकले सिकाए। आजभोलि जस्तो साउण्ड सिष्टम बोकेर तिहार नलाग्दै भैलो खेल्ने चलन थिएन।

राम्रा आशिष दिँदै भट्यायो अनि एक माना चामल दक्षिणाको रुपमा बुझ्यो। तीन दिन भैलो खेलेपछि उठेको चामल बेच्यो अनि पैसा भाग लगायो।

अलि ठूलो भएपछि पैसा बाँड्ने चलन हरायो। बरु त्यही उठेको पैसा र चामल बेचेर आएको पैसाले नजिकै जंगलमा गएर पिकनिक खाइन्थ्यो। आजभोलि जस्तो बस रिजर्भ गरेर बनभोज कार्यक्रममा जाने चलन थिएन र औकात पनि थिएन।

तिहार साँच्चै तिहारजस्तै हुन्थ्यो। आजभोलि दिपावलीले गर्दा तिहार तिहारजस्तो नभएर दिवाली जस्तो भएको छ।

घरका चारै कुना, झ्याल, पेटी, आँगन सबैतिर पालामा तेल हालेर कपासको बत्ती बालिन्थ्यो र पो तिहारजस्तो लाग्थ्यो। आजभोलि त चीनबाट आएको पिलपिले बत्ती बालेर तिहारलाई दिवाली बनाइसके। मैनबत्तीको चलन त्यै पिलपिले बत्तीले दुई तीन वर्षमै खाइदियो।

छिमेकभरिका आमाहरू एउटा घरमा जम्मा भएर फिनी (एक प्रकारको रोटी) पकाउँथे, हामी फिनी पाक्ने घरबाहिर जम्मा भएर ‘कतिबेला च्या र रोटी देलान्’ भन्दै कुर्थ्यौं।

देवतालाई नचढाई मानवलाई नदिने हुँदा थुक निल्दै बस्नुको विकल्प थिएन। उस्तै कन्जुसको घर परे साँझैसम्म बसिन्थ्यो। अनि घरबेटी आन्टी बाहिर आएर भन्थिन् ‘आमासँग फिनी पठाइदिन्छु, तिमेरु अब घर जाओ।’

जस्तै जिम्दारको घरमा भैलो खेलिए पनि दक्षिणामा बार्गेनिङ हुँदैन्थ्यो। हुनेले नाङ्लाभर रोटी फलफूल, चामल, दुईचार रुप्पे सजायर दिन्थे। नहुनेले एक माना चामल बोरामा फ्यात्त खसाल्दिन्थे। तै पनि हामी सम्झेजति आशिषवाला भैलो भट्याउन कन्जुस्याईं गर्दैनथ्यौँ।

सबैका घरमा भैलो खेलिन्थ्यो। सामाजिक सहिष्णुता र धर्मप्रतिको सम्मान सबैले गर्दथे।

देशमा खतरनाक संकटकालको अवस्था थियो, जतिबेला तत्कालीन माओवादी र सरकारको लडाईं थियो। तर चाडपर्वको समय पारेर विद्रोही पक्षले गर्ने युद्ध बिरामको घोषणसँगै हरेक नेपालीका मन हाँस्दथे।

रातिमा लाग्ने कर्फ्यु हट्थ्यो, सुरक्षा फौजका डरलाग्दा चेकिङ हट्थे। वर्षभरिका केही साता भए पनि युद्धमा मरेका खबर रेडियोमा सुनिदैनथे। पत्रिकामा छापिदैनथे।

हामी खुला मनले रातभर भैलो भट्याउँथ्यौ। मज्जाले मादलको तालमा नाच्थ्यौं।

साँच्चै भन्नु पर्दा ऊ बेलाका भैलो मौलिक हुन्थे, परम्परागत हुन्थे। अझ भन्ने हो भने अर्गानिक हुन्थे। आजभोलिका भैलो कन्सर्ट जस्तो लाग्छ। दारुमा मातिएकाहरूको डान्सको कुरै छाडौं, गीत नै डिजे स्टाइलमा हुन्छ।

कागजको पानामा लेख्दिएका भैलोका आशिषहरु यति मीठा लाग्थे कि कालीपार पुगेको जेठो छोरालाई डाक्टर भैजाउन् भनेर आशिष दिँदा पनि घरबेटी हाँसिरहन्थे तर रिसाउँदैनथे

प्रतिक्रिया दिनुहोस