प्रधानमन्त्री बुधबार किमाथांका जाँदै, बोर्डर पोष्ट र आयोजनाको निरीक्षण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको जिल्ला सङ्खुवासभा आउनु हुने भएको छ ।

प्रधानमन्त्री ओली सङ्खुवासभा आउने भएपछि तयारी तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार, प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथाङ्का नाका पुग्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सङ्खुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन, झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको बारेमा अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यको भनाइ छ ।

साथै प्रधानमन्त्रीले त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रहेको राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

यसका अलावा प्रधानमन्त्री ओलीले बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने प्रजिअ आचार्यले बताउनुभयो ।

प्रधानमन्त्रीले बुधबार बिहान साढे ८ बजेदेखि साढे ३ बजेसम्म झण्डै सात घण्टा सङ्खुवासभाको तीन ठाउँमा बसेर अनुगमन गर्ने कार्यतालिका आएको प्रजिअ आचार्यको भनाइ छ ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र सङ्खुवासभाका सङ्घीय सांसद राजेन्द्र गौतम आउने तय भएको छ ।

२०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गर्नुभएकाे थियाे । प्रधानमन्त्रीले अरुण तेस्रो र किमाथाङ्कालाई लिएर पटक–पटक चासो राख्ने गरेकाले आफै अनुगमनका लागि आउन लाग्नुभएको सङ्घीय सांसद गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस