काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले छलफल गर्नुभएको छ । मंगलबार विहान पोखरेल अध्यक्ष निवास खुमलटार पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार विहान ९ बजेतिर भएको भेटमा पार्टीको आन्तरिक विवादको समाधानका विषयमा उहाँहरुबीच छलफल भएको थियो । दुई अध्यक्षबीच तिक्तता हुँदा पार्टी संकटमा पर्ने र बाहिर गलत सन्देश गइरहेको भन्दै अध्यक्ष प्रचण्डलाई मुख्यमन्त्री पोखरेलले सहमतिमा आउन आग्रह गर्नुभएको बुझिएको छ ।
गत शनिबार अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच जना सदस्य बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । सोही छलफलका क्रममा सचिवालय बैठकको माग गर्दै लिखित पत्र हस्तान्तरण गर्नुभएको थियो । दुई दिनपछि आवश्यक छलफल गरेर बैठकबारे निर्णय लिइने प्रधानमन्त्रीले बताउनुभएको समाचार बाहिर आएको थियो ।
त्यसको भोलिपल्ट आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका चारजना नेतासँग प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बालुवाटारमा छुट्टै छलफल गर्नुभयो । सो छलफलमा पनि पार्टी समस्या समाधानका विषयमा परामर्श भएको नेताहरुले बताउनुभएको थियो ।