रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले आपराधिक गतिविधि नियन्त्रण गरी शान्तिसुरक्षा व्यवस्था सुदृढ गर्ने जिम्मेवारी पाएको सुरक्षाकर्मी कमिशनप्रति बढी आकर्षित भएको आरोप लगाएका छन् ।
सीमापारि भारतबाट आउने दैनिक जीवनसँग सम्बन्धित सामग्री पक्राउ गरी भन्सार बुझाएवापत आउने कमिशनप्रति सुरक्षाकर्मीको बढी ध्यान जान थालेको बताउँदै उनले यसले समाजमा आपराधिक घटना बृद्धि भएको र जनतालाई अनावश्यक सास्ती खेप्नुपरेको बताए । उनले करछलिसम्बन्धी कानुनमा सुरक्षाकर्मीलाई कमिशन दिने व्यवस्था संशोधन गर्नसमेत माग गरेका छन् ।
नेपालमा किसानले मलखाद्य नपाएपछि ठूलो जोखिम मोलेर सीमावर्ति भारतबाट ल्याउने गरेको तर नेपालका सुरक्षाकर्मीले पक्राउ गरी भन्सार बुझाउने गरेका छन् । मलखाद्य मात्रै होइन दैनिक उपभोग्यका सामग्रीसमेत ल्याउँदा प्रहरीहरुले अनावश्यक दुःख दिने गरेको र समातेर राजस्व कार्यालयमा बुझाउने गरेका छन् । त्यसरी भन्सार वा राजस्व कार्यालयमा बुझाउँदा प्रहरीलाई २० प्रतिशत कमिशन पाउने कानुनी व्यवस्था छ । यही कानुनी व्यवस्थाको गलत फाइदा उठाउँदै प्रहरीहरुले सानातिना सामग्रीसमेत पक्राउ गरी भन्सार कार्यालयमा बुझाउँदै आएका छन् ।
‘प्रहरी जनताको सेवामा समर्पिछ कि पैसा र कमाउनमा समर्पित छ, प्रदेशका नाममा त जिल्लाका नाममा घुमुवा प्रहरी परिचालन गरी कमिशन उठाउन र जनतालाई आतंकित बनाउन थालिएको छ’ नेता साहले भने–‘सरकारको तलब भत्ता खाने प्रहरीलाई पुरस्कार वा कमिशन पाउने व्यवस्था हुनुहुँदैन, यो कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’
नेपालमा मलखाद नदिने तर आफैले जोखिम मोलेर ल्याउँदा प्रहरीले समातेर भन्सार बुझाउने? नेपाली जनतालाई दुःख दिने र गुमराहमा राख्ने यस्तो कार्यप्रति सरकारको ध्यानाकर्षणसमेत उनले गराए । उनले त्यसप्रति प्रहरी प्रधान कार्यालयले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए ।
‘कुनै पनि करछलिसम्बन्धी सामान समाते पनि प्रहरीले कमिशन लिनुहुन्न, योत प्रहरीको नियमित ड्युटी नै हो, प्रहरी प्रधान कार्यालयले भन्नुपर्यो कि पैसा लिन्न, कमिशन लिन्न’ साहले भने–‘सीमा क्षेत्रमा रहेका स्थानीयवासी प्रहरीको यस्तो कामकारबाहीले सास्ती पाइरहेका छन्, जनताका सेवकबाटै निरन्तर जनतालाई नै दुःख दिने काम भइरहेको छ ।’