रुपान्तरण हुन नसकेको माओवाद

काठमाडौं । केही दिनदेखि फुर्सदिला नेकपाजनहरु वीचमा फेरी सत्ता समीकरणको बहस शुरु भएको छ । पार्टी सचिवालयमा भएका ९ जना सदस्यहरुमध्ये केही वरिष्ठ र केही कनिष्ठ सदस्यहरुको अस्थिरता र द्धैधचरित्रको फाइदा लिदै कार्यकारी अध्यक्ष वेलावेलामा प्रधानमन्त्रीसँग पौठेजोरी खेल्न तम्सिए झै यो पल्ट पनि तम्सिनु भएको छ ।

यसलाई आधार बनाएर नेकपाजनहरु सामाजिक सञ्जालमा कोही कसैको पक्षमा र कोही कसैको विपक्षमा आफ्ना आग्रह पुर्वाग्रहहरु पोखेर रोइलो गर्न थालिरहेका छन् । कार्यकारी अध्यक्षले नेकपाभित्र खेल्न खोज्नु भएको यो अस्थिरताको खेल नयाँ होइन, पुरानै हो । सत्तामोहको महत्वकाँक्षी लक्ष्यप्राप्तीमा उहाँहरुको बुढो दिमागले कहिले सचिवालयको बैठक बसेर नै प्रधानमन्त्रीलाई ठेगान लगाउन सकिन्छ की भनेर सोच्दो हो ? कहिले स्थायी कमिटी, त्योबाट पनि नभए केन्द्रीय कमिटीबाटै भएपनि केही त गरौ भनेर हात मिलाउनुहुँदो हो ? त्यसबाट पनि पार नलागे संसदीय दलबाट नै भएपनि अव छोडन हुदैन है भन्नु हुँदो हो ।

बैठक, बहुमत राजिनामाको उहाँहरुको यो रोडम्याप जनता र कार्यकर्ताको चाहना हो की होइन ? उहाँहरु भित्रको विशुद्ध चित्त दुखाई, कुण्ठा, ईष्र्या, लहड, पदीय महत्वकांक्षालाई जनता र कार्यकर्ताले कसरी बुझने हुन त्यो पनि उहाँहरुलाई हेक्का छैन । पार्टीको महाधिवेशन, आफ्ना पार्टीगत जिम्मेवारीहरु, पार्टी एकीकरणको काम, सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट खेल्नु पर्ने भुमिकाहरु अहँ आजसम्मको जानकारीमा उहाँहरुलाई केही मतलव छैन । मतलव छ त एउटै कुरा, जसरी पनि अस्थिरताको बीउ रोप । निरन्तरतामा क्रमभङता र छलाङको राजनीतिक दर्शनको मुख्य उदेश्य अस्थिरता हो ।

नेपालमा विकसित भएको माओवाद अस्थिरतामा खेल्छ, अस्थिरतामै रमाउछ र त्यसबाटै शक्ति आर्जन हुन्छ भन्ने विश्वास गर्छ । त्यहाबाट यो डगमग गर्दैन अर्थात रुपान्तरण हुन चाहदैन । पार्टी एकीकरणपछि माओवाद रुपान्तरणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा दृष्टान्त दिदै भन्नु भएको छ । “तपाई एउटा बाख्राको पाठोलाई बोडिङ्ग हाल्दिनुस् । पाँचबर्ष बोडिङमा पढाउनुस् म्याँभन्दा माथितिर गर्दैन । किनकी जेनेटीक मेमोरी उसले त्यही म्याँ गर्न मात्रै पाएको छ” ।

उहाँको यो दृष्टान्त अहिले नेकपाभित्र माओवादको रुपान्तरण गर्ने प्रक्रियासँग ठ्याक्कै मिल्छ । पार्टी एकीकरणपछि माओवादको अस्थिर राजनीतिक दर्शनलाई रुपान्तरण गर्ने कोशिसहरु नभएका होइनन् । केपी शर्मा ओलीकै शव्दमा फाटेका र च्यातिएका कमलो मनहरुलाई धेरैपल्ट टाल्न कोशिस नगरिएका होइनन् । जनताको बहुदलीय जनवादको वैचारिक भट्टीमा हालेर नेपाली माओवादलाई अस्थिरताबाट स्थिरतातर्फ बदल्न नखोजिएको होइन तर माओवाद रुपान्तरण हुन सकेन । किनकी उसको जेनेटीक मेमोरी अस्थिरता हो । उ त्यही अस्थिरतामा खेल्न चाहन्छ । अहिले पार्टीभित्र देखिएको अस्थिरता माओेवाद रुपान्तरण हुन नसक्नुको परिणाम हो ।

चीनमा देङस्याओपीङको “रिफर्म र ओपननेश” नीतिमार्फत चिनीयाँ माओवाद रुपान्तरण भयो । तर नेपालमा अस्थिरता, क्रमभङता र छलाङको दर्शन बोकेको नेपाली माओवाद रुपान्तरण भएन । यसको उल्टो रुपान्तरणका संबाहकहरु नै अर्थात जवजको जीन बोकेका केही कमरेडहरु हिजोआज छलाङको दर्शनबाट भ्रमित हुनु भएको छ ।

नेकपाभित्र अहिलेको समय बैचारीक घुलन र रुपान्तरणको समय हो । त्यसमा पनि अस्थिरताको राजनीतिक दर्शनलाई रुपान्तरण गर्ने समय हो । तर जेनेटिक मेमोरीकै कारण रुपान्तरण असंम्भव हो भन्ने सवैको निष्कर्ष हो भने अव आ–आफनो बैचारीक बाटोमा हिडनु सवैको कर्तव्य हो, भन्नुको अर्थ अस्थिरतालाई परास्त गर्न जवज पक्षहरु सवै एक हुनु नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस