काठमाडौं । राती नौ बजेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको फोन देख्नेबित्तिक्कै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलो भन्नुभएको मात्र थियो उताबाट सोधनी भयो ‘तपाईंले बिहान भएको सहमति किन खण्डन गर्न लगाउनुभयो ?’ जवाफमा प्रचण्डले भन्नुभयो ‘कहाँ सहमति भएको थियो ? तपाईंले एकतर्फी रूपमा सहमति भन्दै किन पहिले प्रेस नोट सार्वजनिक गर्नुभयो ? नभएको कुरो किन बाहिर ल्याउनुभयो ?’
अलि नरम स्वरमा प्रधानमन्त्रीले सम्झाउनुभयो ‘मैले तपाईंलाई भनेकै थिएँ त,यसो गरौं भनेर ।’ उल्टै प्रचण्डले प्रतिप्रश्न गर्नुभयो ‘तपाईंले भन्दैमा र भनेबमोजिम जति सबै सहमति हुन्छ ? त्यसो हो भने मैले पनि त धेरै कुरो भनेको थिएँ नि,ती कुरालाई लिएर कहाँनेर सहमति गर्नुभयो ?“ समस्या समाधानको लागि त्यहिँको सरकार र पार्टीलाई जिम्मा दिऔं भनेको थिएँ । त्योचाँहि किन सहमति भएन त त्यसोभए ?’
बिहानको छलफलमा भएका सबै विषयबारे प्रचण्डले बेलिबिस्तार लगाएपनि प्रधानमन्त्री सहमत हुनुभएन । त्यसैले उहाँको तर्क थियो ‘त्यस्तो तरिकाले हुँदैन । यो राम्रो पारा भएन ।’ त्यसो हो भने ‘तपाईंको तरिकाले पनि हुँदैन’ भन्दै प्रचण्डले थप्नुभयो ‘विधि र प्रक्रियालाई नमान्ने तपाईंका तरिकाले पनि कहिल्यै सहमति हुँदैन ।’
त्यसो हो भने ‘अब तपाईंसँग बस्नुको कुनै अर्थ छैन´ । प्रधानमन्त्रीले स्वर अलि कडा गर्दै भन्नुभएको मात्र थियो प्रचण्डले पनि जस्तालाई तस्तै भनेझैँ जवाफ फर्काउनुभयो ‘हो त्यहि हो । तपाईंसँग जति बसेपनि तपाईंको उद्देश्य कहिल्यै राम्रो देखिँदैन ।’ त्यसो हो भने ‘अब नबसौं । तपाईं र म अब भेटवार्ता पनि नगरौं’ प्रधानमन्त्रीले छिनालेर कुरो गरेको देखेपछि प्रचण्डले सहजसँग भनिदिनु भयो ‘हुन्छ । तपाईंसँग भेट गर्नुको कुनै अर्थ म पनि देख्दिनँ । तपाईंको पाराले जनतासमेत पार्टीबाट धेरै टाढा भइसकेका छन् । अब नबसौं ।’
त्यसपछि प्रधानमन्त्रीले च्वाट्ट फोन काटिदिनुभयो । उता,खुमलटारको फोनमा बिजी टोन बज्न थाल्दा रात छिप्पिसकेको थियो । त्यसपछि अध्यक्षद्वयबीच कुनैपनि किसिमको सम्वाद नभएको बताइन्छ । -जनआस्थाबाट