प्रदेश न २ सरकारले कोरोनाको उपचार निशुल्क गर्ने

जनकपुरधाम । संघीय सरकारले कोरोना भाइरस संक्रमितहरुको उपचार नगर्ने निर्णय सार्वजनिक गरेपछि चौतर्फी आलोचना भइरहेको बेला प्रदेश २ सरकारले निशुल्क उपचार गर्ने जनाएको छ ।

‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा लाग्ने सम्पूर्ण सहयोग गर्नेछ’ मुख्यमन्त्री लालबाबु राउतले भने, कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमि आउन दिने छैन् । प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै अगामी दिनमापनि सक्दो सम्पूर्ण सहयोग गर्ने उनले बताए ।

प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको प्रबन्ध मिलाएको जनाउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च स्वयं नै ब्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको आलोचना भइरहेकोछ । भारतको दिल्ली सरकारले कोरोना संक्रमितहरुको सम्पूर्ण उपचार निशुल्क गरेको र अन्य रोगको उपचारपनि सरकारी अस्पतालमा हुन नसके निजी अस्पतालमा गराउदाको खर्च समेत राज्य सरकारले ब्यहोर्ने पोष्टरसँगै राखेर स्वास्थ्य मन्त्रालयको सुचनाको समाजिक सञ्जालमा बिरोध गरिएको छ । ‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा हरसंभव सहयोग गर्नेछ’ मुख्यमन्त्री राउतले भने, कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि निशुल्क रुपमा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस