के दशै आएकै हो त?- प्रमिला शर्मा

दाङ । समयको गतिशीलतामा गन्तब्य विहिन यात्री झैँ यात्रा गरिरहेको एक बटुवा जो बाटो नभेटाई सडकका गल्लिहरुमा भौतारिरहेको पथभ्रष्ट म। खुशी र सपनालाई बन्धकी राखी फिक्का हाँसोमा रुमल्ली रहेको म असफल जिवनलाई सफलताको सुचिमा राख्ने झिनो आशा राखेको म सिसा झैँ फुटेर चक्नाचुर हुँदा मात्र सोचेँ ,आशाले सिर्फ निराशामा पुर्याउँछ ।फुटेको सिसाबाट बज्ने ध्वनी जस्तै ठ्याक्कै दुरुस्तै आवाज मनबाट निस्किरहेछ। पहिले म मेरा सपनाका कुरा दुनियाँमा फुक्दै हिँड्थेँ आजकाल सपना आँखामा देखेको छु तर मौन छु ,कुनै चाड्बाडको हर्ष खुशी ,बाल्यकाल को झैँ उत्साह केहि छैन,जिम्मेवारिको भारी मेरो तौल भन्दा अनि बाल्यकालको भोला भन्दा निकै गरुँगो हुँदो रहेछ।अब आँखामा साजिएका अपुरा र अधुरा सपनाले निदाउन दिदैँन तब दशैँ नआएनी आँखा बिउँझेको हुँदा रहेछन् ।जब आफू सङ्गै हुर्केको र पढेको साथि फोनमा लाख र करोडका कुरा गर्छ तब आफ्नो रित्यिएको गोजिमा भरिएका चाहना र सपना देख्छु म अनि गोजिमा हात राखेर बाहिर निकाल्दा वर्षौं देखि जम्मा भएको धुलोलाई मैले सपना झैँ उडाउनु बाहेक विकल्प छैन। जब वर्षौं लागेर बनेका अति प्यारा सम्बन्ध पलभर मै टुटछन् अनि याद आउँछ त्यो गीतको `कति दिन लाग्यो माया लाउनलाई धाउनलाई ,एकै छिनमा फाट्यो माया जुनिभरिलाई´।अनि लाग्दैन कहिल्यै दशैँ आएको ,अब आउने दशैँमा सङ्गै टीका थाप्ने सपना देखाएकिले आफ्नो निधार सङ्गै माया अन्तै बेचेपछी सोचेँ ,के साच्चै दशैँ आएकै हो त?आमाको हातको आशिर्वाद छैन,बुवाको साथ छैन,अनि सोच्छु ,के साच्चै दशैँ आएकै हो त?

यहाँबाट धेरै दुर ,त्यो दुरको गाउँमा एकहल गोरु,दुईचारवटा बाख्रा,२० धुर जमिन अनि खरले छाएको पहेलो र रातो माटोले लिपेको सानो कटेरो जसलाई हरेक पटकको वर्षात र आँधीपछि पुन: निर्माण गर्नु पर्छ।त्यसैलाई सम्हाल्दै आएकी मेरि आमा रङ्ग फिक्का परेको पातलो फरिया र कुहिनोमा अर्को कपडाले टालेको चोली ,टाउकोमा मुरेउठो , गोडा चर्किएका पइतलामा प्याट्प्याट गर्ने प्याटप्याटे चप्पल अनि म उहाँको आँखाको तारा,साँच्चै तारा नै रैछु।धर्तिबाट आकाशमा रहेका तारा जति टाढा छन् त्यो भन्दा कयौं माइल टाढा छु म,मेरो त्यो कटेरो र आमाको काखबाट।आमाको एक्लो छोरो म,जनयुद्ध कालम बन्दुकका गोलिले मेरा बाको छती प्वाल पर्दा म आमाको गर्भमा आनन्दीत अनि सुरक्षित थिए ।त्यो समय कोहि सुरक्षित थिएन्न आमाको गर्भमा ढुक्कले सुरक्षित बसेको म,म बाहिरी संसारलाई हेर्न धर्तिमा पाइला टेक्दा मेरो बुवा पनि तारा बनिसक्नु भएको थियो।एउटा काखमा छोराको च्याच्या अनि अर्को काखमा बुवाको लास हुँदा आमा जिउदो लास झैँ भएर आँखामा समुन्द्र जम्मा गर्नु भएको थियो तर कहिल्यै उर्लिन दिनु भएन।
त्यही आँसु कहिल्यै नखसोस भनेर एक थान सपनाको पोको पारी तिम्रो पोल्टोमा खुशी भर्ने आशाले तिमिबाट दुर आए आफुलाई चिन्न र खोज्न यो बिरानो ठाँउमा तर म भेटिए कि हराए? यहि प्रश्नले बारबार सताउने गर्छ।मेरा लागि तिमिले नखाएको गाँस,मेरा लागि तिमी ननिदाएको रात अनि मेरा लागि तिमिले लुकाएका आँसु।

मलाई याद छ त्यो दिन दशैँ आयो भन्दै पारी खेतको डिलमा पहेलो र रातो माटो खन्न गएको अनि मल र माटो मिसाएर खरले छाएको हाम्रो घर लिपेको।सबैको घरमा नयाँ कपडा र मासु देखेर तिमी आफू सङ्ग भएको जति सबै लिएर मेरा लागि नयाँ पाइन्ट र मासु ल्याइदिएको।मनका अथाह पिर र बेदनालाई थाती राखेर घरको अँध्यारो कुनामा जमरा छर्दै दशैँ आएको सङ्केत दिन्थेउ तिमी।तर आज खै त्यो दिन म यहाँ बिरानो ठाँउमा बन्द कोठा भित्र कुण्ठित छु जहाँ घरको रङ्ग पनि फिक्का छ।खै त्यो पहेलो माटो ??खै रातो माटो।के साँच्चै दशैँ आएकै हो त? म बारमार एउटै प्रश्नमा अल्झिरहेको छु। फेसबूकका भित्ताहरुमा दसैंको शुभकामना दिनेको लर्को छ,हरकोही चिनेको होस या अन्जान।तर तिमी सङ्ग बात नभएको कति भयो,त्यो गाउँमा तिमी मेरो पर्खाइँमा बसेकी छौँ म यहाँ बन्द कोठामा शान्त छु।के साँच्चै दशैँ आएकै हो त? असत्य माथी सत्यको विजय भएको भनाईलाई सङ्केत गर्दै आएको दशैँ ,के त्यो भनाईमा मात्र सिमित हो त? खै त यहाँ सत्यको जित भएको।तिमिले आफ्नो चोलिको पोल्टोमा मेरै लागि साचेको एकएक रुपियाँ खर्च गरेर हासिल गरेको मेरो डिग्रीको प्रमाणपत्र यो बिरानो ठाँउमा चलेन,यहाँ जागिर पाउन पैसा र पावर चाँहिदो रहेछ आमा,त्यसैले म मेरो डिग्रीका प्रमाणपत्र लिएर एउटा रेष्टुरेन्टमा वेटरको काम गरिरहेको छु।
तिम्रो भागका खुशी थानमा दिने सपना मेरो सपनामै सिमित भयो,मैले राम्रो सङ्ग एक थान कपडापनि दिन सकेको छैन,खुशी त कोषौ दुरको कुरा हो।जसतसो यसपालिको दसैंमा म तिम्रो साथ हुन्छु भन्ने कल्पनामा रमाउँदै थिए साहेद त्यो पनि ललाटमा लेखिएको छैन। पाएको काम पनि हरायो,त्यसैले तिमिका आउने भाँडा पनि भएन,तिम्रो दुधको भाँडा कसरी तिरुँला?तिमी मेरो पर्खाईमा पेटिमा बसि चाउरी परेका आँखाका डिल पारी खेतको डिलसम्म पुर्याइरहेकी छौ होला।दसैँमा आउँछु भनेको छोरो घर नआउँदा तिमी पनि सोच्दै हौली ,के साच्चै दशैँ आएको हो त? आमा दशैँ त साच्चै आएको हो तर यो हाम्रो दशैँ रहेनछ।हुनि खानीलाई पो दशैँ नहुनिलाई त दशा रहेछ दशैँ । अहिले किसानको खेती,डाक्टरको औषधि ,इन्जिनियरको बाटो , चित्रकारको चित्र,आमाको ममता, पिताको साथ,न्यायलयामा न्याय, लेखकका शब्द आदि इत्यादि सबै रोइरहेको बेला लाग्छ- के साँच्चै दशैं आएकै हो त?

सडकका चोकचोक र गल्लिहरुमा पुरुष सबै बलात्कारि हुन् जस्ता शब्दले पिरोलिरहँदा कसरि भनु म दशैँ आएको छ। अपराध गर्ने अपराधि हो अनि बलात्कार गर्ने सिर्फ बलात्कारि हो ।उ न बवा हो न दाइ न गुरु न साथी न कोहि आफ्नो मान्छे । तिनीहरु त आफ्नो भएको खोल ओढ्ने अन्जान हुन् अपराधी हुन् । पुरुष सबै बलत्कारी हुन् भ न्दा म बस्ने घरको घरबेटी काका आफ्नी १५ वर्षकि छोरी सङ्ग आँखा जुधाएर बोल्ने आट गर्नु हुन्न ,एक किसिमको हिनताबोधले उहाँ पलपल हरेक पल गलिरहेको देख्दा सोच्छु के साच्चै दशैँ आएकै हो त? एउटा बलात्कारिले गर्दा एक पिता छोरिको नजरबाट गिरिरहेका छन् अनि कयौं निर्दोष दाइ ,साथी जस्ता सम्बन्ध चुँडिरहेका छन् । कोहि मलाई पनि दाई भन्छन् ,मेरा पनि कति प्यारा सम्बन्धहरु छन् या अझ भनौं म भोलि एक बुवा पनि बन्ने छु जो पुरुष हो जस्लाई आजको मितिमा बलात्कारी शब्दले पुकारिरहेको छ। यो सबै दृश्य आँखाका डिल अनि मुटुका कुनकुनामा देखिरहेको बेला कसरी भनुँ दशैँ आइरहेको छ । मलाई दाइ शब्दले सम्बोधन गर्ने मैले बनाएकी बहिनी आज सुरक्षित नहुँदा अनि मेरा नजिका साथिहरु डरले भित्रै गुम्सिदा त मुटु पनि शिथिल बन्दो रैछ, कुनै प्रतिक्रिया नदिएको मुटु लिएर बाँचिरहेको बेला ,खुशी हुने कुनै माध्यम नभएको बेला, अपराधले सगरमाथामा छुँदा अनि अपराधी पहाड झैँ अटल भएर खुल्लम्खुल्ला देखिँदा ,अनियंत्रित मनका भावना जबर्जस्ती नियन्त्रण गर्नु पर्दा , लाज र बिना कारण दोषी भइरहेको बेला ,कसरी भनुँ दशैँ आएको छ ।

म यत्रतत्र सर्वत्र टाउको घुमाउँछु र देख्छु सबै फेरिएको ।साहेद,परिवर्तन प्रकृतिको नियम,यहि नियम पूरा गरिरहेका छन् ।धानका बाला समयभन्दा पहिले पहेलै हुनु र कोदो बारिमा आतिदै फुल्नु,त्यसलाई परिवर्तन भएको बुझौं या….।समयभन्दा अघि केही छैन भन्ने भनाई पनि भनाईमा सिमित रह्यो,यहाँ सबै समयपुर्व भइरहेको छ।दशैँमा गाउँको डाँडोमा बनाइने चर्के पिङ छैने रे आज,साथिहरुको चिच्याहट छैन रे आज किनकी सबै साथी म जस्तै भविष्यमा खुशी रहन भनेर वर्तमानको खुशीलाई मनको कुनामा चिहान बनाएर कताकता हराइरहेका छन रातो-पहेलो माटोले पोतेर खरले छाएको घर छैन आज, टीका पछि ढोक्दै गर्दा सन्तानले डाँडाकाँंडा ढाकुन भनेर दिइने आशिर्वादका आवाज सुनिदैन्न आज,आजकाल भावना र खुशी साटासाट गरिदैन बस देखाइन्छ ,दशैँका टीका लगाइदिदैँ जपिने मन्त्र जपिदैन रे आजकाल,यहि सब सोची बन्द कोठामा आफ्ना खुशी र चाहना बन्द गरेको आफ्नै जिन्दगी को काहानिको पात्र- म सोच्छु,के साँच्चै दशैँ आएकै हो त?

प्रतिक्रिया दिनुहोस