कात्तिक ७ गतेबाटै क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले तोकेकै अवधिबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू गर्ने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीले बुधबार सूचना प्रकाशित गर्दै आगामी कात्तिक ७ गतेबाटै क्लिन फिड लागू गर्ने सरकारी तयारी रहेको उल्लेख गरेका छन्।

सरकारले सम्बद्ध सबै संघसस्थालाई तोकिएकै मितिबाट क्लिन फिड लागू गर्न निर्देशनसमेत दिएको छ। गत वर्ष संघीय संसदबाट पारित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कात्तिक ८ मा प्रमाणीकरण भएको थियो। ऐनको परिच्छेद २ को ६ (१) मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान समेटिएको छ। जसको उपदफा २ को (१) मा उक्त ऐन प्रारम्भ भएको एक वर्षभित्र विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। मन्त्रालयले क्लिन फिड प्रसारण नभए प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यस्तै, भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले भदौ अन्तिम साता नेपाल सरकारलाई क्लिन फिड लागू गर्न थप ६ महिना समय माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ। फाउन्डेसनले कोरोना महाव्याधिका कारण प्राविधिक एवं व्यवस्थापकीय कार्यमा समस्या परेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अहिलेको संकटबाट सामान्य अवस्थामा फर्किएपछिको थप ६ महिना समय उपलब्ध गराउन पत्राचार गरेको थियो। मन्त्रालयले भारतीय पक्षले गरेको पत्राचारको झण्डै एक महिनापछि त्यस विषयमा धारणा सार्वजनिक गरेको हो। क्लिन फिड लागू गर्ने भनिए पनि ऐनको प्रावधान अनुसार सरकारले अहिलेसम्म विज्ञापन बोर्ड नै गठन गरेको छैन।

गत असोज ५ मा संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी कात्तिक ७ गतेबाटै क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस