प्रधानमन्त्रीलाई कप्तान किरणको पत्र : रंगशालामा म्युजिक भिडियो खिच्‍न हुने, फुटबल खेल्न नहुने ?

काठमाडौँ । कोरोना महामारी बढेसँगै नेपाली खेलकुद क्षेत्र ठप्प जस्तै छ । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि प्रशिक्षणको तयारीमा जुटेका खेलाडीलाई फर्काइएको छ भने खेलकुदका मुख्य निकाय बन्द गरिएका छन् ।

सन् २०२२ को कतार विश्वकप र सन् २०२३ मा चीनमा हुने एसिया कपको छनोट प्रतियोगिता खेलिरहेको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीलाई काठमाडौं बोलाएर क्वारेन्टाइनमा राखेको थियो ।

यसबीचमा साउन २६ र २७ गते ५५ जना खेलाडी तथा अफिसियलको कोरोना परीक्षण पनि गरेकामा एक खेलाडीमा संक्रमण देखिएको थियो । त्यसपछि नेपाली फुटबलको गतिविधि पनि बन्द नै छ ।

पछिल्लो समय कतार विश्वकपका लागि दक्षिण अमेरिकी समूहको छनोट खेल भइरहेका छन् । दर्शकविहीन रंगशालामा इंग्लिस प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, फ्रेन्च लिग, बुन्डेसलिगा, सिरी ए जस्ता ठूला प्रतियोगिता भइरहेका छन् । नेपालमा पनि पछिल्लो समय भर्चुअल रुपमा तेक्वान्दोका केही प्रतियोगिता भइरहेका छन् ।

यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मंगलबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव तथा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् । उनले प्रधानमन्त्री र राखेप पदाधिकारीसँग स्वास्थ्य मापदण्ड अपनाएर सम्पूर्ण खेलकुदका गतिविधि सुरु गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री र राखेप पदाधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रको सम्पादित अंश :

सम्माननीय प्रधानमन्त्रीज्यू तथा आदरणीय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवज्यूलाई म सानो खुला पत्र लेख्दैछु ।

म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई केही कुरा भन्न चाहन्छु । फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद पुन: सुरु गर्न सबै मापदण्ड पूरा गरी सुरु गर्न हजुरहरुसँग अनुरोध गर्दछु । के खेलाडी सधैं मर्ममै पर्ने र मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ?

खेलाडीचाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरु चाहिँ चिल्लो गाडीमा । खेलकुद मन्त्रालय र खेलकुद परिषद्का माननीयज्यू र सम्मानीय प्रधानमन्त्रीज्यूले सायल बिर्सनुभयो होला देशको नाम खेलकुद र खेलाडीले नै चिनाउने गरेका छन् । तर यतिका महिना खेलाडी र खेलकुद कुन दुर्दशामा छन् भन्ने कुरा चासोको विषय नबनेको देख्दा फुटबलमा भविष्य खोज्ने भाइबहिनीमा कति असर परेको छ भन्ने कुरा खुलस्त रुपमा देखिन्छ ।

विश्वका अधिकांश देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएनन् । खेलाडीका लागि मात्र होइन, खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन । अन्य देशका रंगशालामा फुटबलको रौनक सुरु भइसक्यो । तर हामीले दु:ख गरेर बनाएको रंगशालामा फिल्म र म्युजिक भिडियोको सुटिङका लागि प्रवेश खुला गर्ने, फुटबलका लागि चाहिँ खुला नहुने ? के सबै स्वास्थ्य मापदण्ड अपनाएर फुटबल सुरु गर्दा त्यति ठूलो असर पर्छ र ?

अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेल सुरु हुने व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु । आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले ? नेपाली फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखिन्न । फुटबल खेलाडीले खेल्न बिर्सिसके सरकार ! फुटबल राजनीति जस्तो होइन बोलेर मख्‍ख पर्न । फुटबलमा खुट्टाले दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्ला गाडीमा बसेर गफ लगाएजस्तो सजिलो हुन्‍न ।

दुई खुट्टा चलाएर घरपरिवार हेर्नुपर्ने हुन्छ । ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? जुन खेलाडी खेलेर नै जीविका चलाउथेँ, उनीहरु त आजभोलि खेलमैदान छोडेर विदेश जाँदै छन् । यो त राज्य र नेपाली खेलकुदकै लागि लाज हुने कुरा होइन र सम्माननीयज्यू ! जय देश ! जय नेपाली फुटबल !

(कान्तिपुर दैनिक)

प्रतिक्रिया दिनुहोस