डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित

काठमाडौँ । डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित गर्नुभएको छ । गएराति सरकार र डा. केसीबीच आठबुँदे सहमति भएपछि आइतबार बिहान सत्याग्रह स्थगित गर्नुभएको हो । त्रिवि शिक्षण अस्पतालका कार्यालय सहयोगी विकास नेपालीले जुस खुवाएर सत्याग्रह स्थगित गर्नु भएको छ ।
डा. केसीले ६ बुँदे माग राख्नुभएको थियो तर थप दुईबुँदा सरकारले थपेको थियो । जसमा सातौं नम्बरको बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा सत्याग्रह तोड्ने सहमति भएसँगै सत्याग्रह स्थगित गर्नुभएको हो ।
यसैबिच सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएसँगै आवासीय चिकित्सक सङ्घले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ।
हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड(१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका थिए । तर राति सहमति भएसँगै उनीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका हुन् ।
हिजो बेलुकी अबेरसम्म पनि डाक्टर केसीको मागमा सुनुवाइ हुने छाँट नदेखेपछि उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक र कोभिड(१९ बाहेकका सबै उपचार बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस