जनकपुर । असोज २ गते नेपालमा रेल आयो। जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल भारतको जयनरग हुँदै असोज २ गते दिउँसो जनकपुरको रेल स्टेसन आइपुग्यो। कोरोना संक्रमणको त्रासका बीच पनि रेल हेर्न, रेलसँग फोटो खिच्नका लागि जनकपुरमा ठूलो भीड लाग्यो।
रेल आएपछि सबैले खुसीयाली मनाए। जयजयकार गरे। यतिधेरै भीड उर्लियो कि रेल्वे स्टेशन छेउछाउको सडक नै जाम भएको थियो।
जे, जसरी भएपनि नेपालमा रेल आयो। जनकपुर, प्रदेश २ मा मात्रै नभएर राजधानी काठमाडौं र देरभर नै यसको चर्चा राम्रै भयो केही दिनसम्म।
सरकार समर्थकहरूले जनकपुरमा रेल आइपुग्न अहिलेको सरकारको ठूलो उपलब्धिको रुपमा अर्थ्याए। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई देखाएको रेलको सपना पूरा भएको भन्ने कोणबाट चर्चा भयो।
नेपालमा पहिलो पटक सन् १९२७ मै रक्सौलदेखि अमलेखगञ्जसम्म रेल सेवा सञ्चालनमा आएको भन्ने इतिहास पनि खोतलियो। नेपालमा पहिलो पटक रेल आएको झैँ चर्चा भयो। तर जनकपुर-जयनगरमा पहिल्यै रेल चल्ने गरेको थियो। बन्द भएको लामो समयपछि स्तरोन्नती गरी नयाँ रेल चलाउन लागिएकाले भन्ने टिप्पणी पनि भयो।
असोज २ गते राति जनकपुर स्टेसनमै राखिएको रेल ३ गते बिहान इनर्वा (धनुषा) स्टेसन पुर्याइयो । त्यहाँ रेल त्रिपालले छोपेर राखिएको छ। रेलको सुरक्षामा सशस्त्र प्रहरी खटिरहेका छन्। रेल आएर पनि सञ्चालनमा नआउँदा जनकपुर बासी निराश बनेका छन्। आवश्यक तयारी पूरा नगरी रेल ल्याउँदा थन्काउनु परेको हो।
महाप्रबन्धकको सक्रियता यता
रेल आरामले बसिरहेका बेला रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धकलाई भने निकै भ्याइनभ्याइ छ। आरामले बस्न पाएका छैनन्। उनी सामाजिक सञ्जालमा निरन्तर भिडिरहेका छन्। फेसबुक ट्विटरमा आफू र सरकारका आलोचक विरुद्ध भिड्न निकै व्यस्त देखिन्छन् उनी।
नेपालमा आएको रेलबारे विभिन्न व्यक्तिहरूले गरेका ट्विटमा कडा-कडा शब्दमा प्रतिक्रिया दिन व्यस्त छन् महाप्रबन्धक भट्टराई।
नेपालमा आएको रेल ५० वर्ष पुरानो प्रविधिको भएको भन्ने टिप्पणीदेखि, यो ल्याउनुमा वर्तमान सरकारको योगदान खासै नभएको भनी आएका प्रतिक्रियामा पनि भट्टराई भिडिरहेका छन्।
मलाई रेलको कोइला भर्ने जागिर मिलाइ दिनु पर्यो भनी जिस्क्याउँदा आक्रोशित बनेका छन् उनी ।
‘रेलमा कोइला भर्ने काम मिलाइ दिनुस् है मलाई, देशका लागि काम गर्नुपर्यो।’ अनन्त कोइरालाले भट्टराईलाई जिस्क्याएका छन्।
भट्टराई हरेक दिनजसो फेसबुक ट्विटरतिर कोही न कोही व्यक्तिसँग भनाभनमा उत्रिरहेका हुन्छन्।
सञ्चार माध्यममा आएका समाचार तथा कसैले सामाजिक सञ्चालमा व्यक्त गरेका अभिव्यक्तिमाथि कडा प्रतिवाद गरिरहेका हुन्छन्।
उनी आफूमाथि र रेल्वे कम्पनीमाथि भएका टिप्पणीमा मात्रै नभएर सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा गर्नेमाथि पनि कडा प्रतिवादमा उत्रिइरहेको देखिन्छ।
केहीदिनअघि एपी वान टेलिभिजनमा टीकाराम यात्रीले पूर्वमन्त्री गोकुल बास्कोटासँग अन्तवार्ता लिएका थिए। यसक्रममा यात्रीले गुरु भट्टराईको योग्यताबारे गरेको प्रश्नमा उनी निकै रिसाएका छन्। यात्रीले भट्टराईको योग्यता फेसबुक ट्विटरमा अरुको उछित्तो काढ्ने हैन? भनी बास्कोटासँग गरेको प्रश्नले आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन्।
सो भिडियो सेयर गर्दै बुधबार दिउँसो फेसबुकमा निकै लामो स्टाटस लेख्दै भट्टराई यात्रीविरुद्ध खनिएका छन्।
‘गुरु भट्टराई चाकरी जान्दैन, विधि, कानून र प्रणालीले जे अधिकार दिएको छ, त्यस अनुसार काम गर्छ।’ भट्टराईले लेखेका छन्, ‘दोस्रो कुरा मेरो योग्यता के हो भनेर मिडियालाई बायोडाटा पेस गरेर उतीर्ण भएपछि मात्रै कुनै जिम्मेवारीमा योग्य हुने भन्ने कहीँ लेखेको छैन।’
डाक्टर केसीबारे अनलाइन खरबले लेखेको समाचारका विषयमा पनि बिहीबार फेसबुकमा लम्बेतान स्टाटस लेख्दै आलोचनामा उत्रिएका छन् महाप्रबन्धक भट्टराई ।
यसबाहेक आफ्ना विरुद्ध सामाजिक सञ्चालमा लेख्ने र उनलाई मन नपरेका समाचार लेख्ने व्यक्ति र मिडियामाथि उनले निकै तुच्छ शब्दमा समेत टिप्पणी गरेको भेटिन्छ।
नियुक्तिकै बेलामा आलोचित
रेल्वे कम्पनीका महाप्रबन्धक हुनुअघि उनले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामाथि आलोचना भएको थियो। विषेश गरी प्रधानमन्त्री ओलीका बचाउमा अभिव्यक्ति दिने उनले नेकपाकै अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि तुच्छ टिप्पणीसमेत गर्दै आएका थिए।
प्रधानमन्त्री ओलीको आलोचना गर्ने, उनका कुरामा असहमत हुने राजनीतिज्ञ, विचारक, पत्रकार सबैमाथि खनिने गरेका थिए भट्टराई। सामाजिक सञ्जालमा तल्लोस्तरका टिप्पणी गर्दै गालीमा उत्रने गरेका थिए। गत जेठ २९ गते रेल्वे कम्पनीको महाप्रबन्धकमा भट्टराईको नियुक्त भएका थिए। उनको सामाजिक सञ्जालका गतिविधि र अभिव्यक्तिलाई लिएर त्यतिबेलै आलोचना भएको थियो। सरकारका आलोचकसँग सामाजिक सञ्जालमा भिडेकै कारण पुरस्कारबापत नियुक्ति पाएको भन्ने चर्चा पनि चलेको थियो।
महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेपछि पनि सामाजिक सञ्जालमा आलोचकमाथि खनिन छाडेका छैनन्। पदीय जिम्मेवारी अनुसार उनका भाषा गतिविधि असुहाउँदो भएको भन्दै आलोचना भइरहेका छन्।
किन चल्न सकेन रेल ?
रेल निर्माण गर्ने भारतीय कम्पनीका अधिकारीबाट रेलको कागजात औपचारिक रुपमा बुझ्दै नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले दसैंअघि नै रेल सञ्चालनमा ल्याउने बताएका थिए। तर अब दसैं आउन एकसाता मात्रै बाँकी छ। रेल सञ्चालन हुने छाँट छैन।
कर्मचारीको नियुक्ति, बोर्डर क्रस रेल सञ्चालन गर्नुपर्दा भारत सरकारसँग गर्नुपर्ने सम्झौता लगायतका काम अझै बाँकी नै छ। रेल्वे कम्पनीले १२९ कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेका थिए। आवेदन दिने मिति असोज १२ सम्म तोकिएका थियो। सो अवधिमा ३२ हजारले आवेदन दिएका छन्।
१२९ कर्मचारी माग्दा ३२ हजारले आवेदन दिएपछि रेल्वे कम्पनीका अधिकारीहरू तनावमा परेका छन्। कसरी र के आधारमा करारमा कर्मचारी नियुक्ति गर्ने भन्ने विषयमा रेल्वे अधिकारी अन्योलमा देखिन्छन्।
महाप्रबन्धक भट्टराईका अनुसार आवेदन दिएका ३२ हजारमध्ये आवश्यक कागजात र योग्यता पुगेका व्यक्तिलाई पहिलो चरणमा छनोट गरिने छ। त्यसपछि अन्तरवार्ता माध्यमले आवश्यक कर्मचारी छनोट गरी तत्कालै नियुक्त गर्ने तयारी भइरहेको छ।
दसैंमा गर्न नभ्याए तिहारसम्ममा रेल सञ्चालनमा आउने महाप्रबन्धक भट्टराईको दाबी छ। उनी भन्छन्, ‘कोरोना भाइरसले सीमा बन्द भएका कारण जय नगरसम्म रेल चलाउन अप्ठेरो हुनसक्छ। त्यसैले नेपालमै भएपनि तिहार अगाडी नै रेल सञ्चालन गर्छौँ।’ तर तिहार अगाडी पनि रेल सञ्चालन गर्न सक्ने अवस्था छैन।
रेल सञ्चालनका लागि भाडा समेत तय भइसकेको छैन। रेल सम्बन्धी विधेयक पारित हुन नसक्दा जनकपुर (कुर्था)-जयनगर चल्ने रेलको नाम के राख्ने विषय समेत अन्योलमा छ। यसअघि जनकपुर रेल्वे नाम राखिएको थियो। तर अब नेपाल रेल्वे नाम राख्ने कसरत भइरहेको छ।
जनकपुर आएको रेल कस्तो ?
रेल्वे कम्पनीले दिएको जानकारी अनुसार जनकपुर-जयनगर चल्ने रेलको गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ। जनकपुरको (कुर्था)देखि जयनगर करिब ३५ किलोमिटर छ।
पूरा गतिमा रेल गुडाइयो र कुनै स्टेशनमा रोकिएन भने जनकपुरबाट जयनगर पुग्न २० र २२ मिनेट लाग्छ।
नेपाल भित्रिएको यो रेल ‘१६०० एसपी डेमु ट्रेन सेट’ हो। यो ट्रेन सेटमा एक पटकमा करिब १३ सय यात्रुहरू बोक्ने क्षमता छ। एउटा ट्रेन सेटमा ५ डब्बा छन्।
नेपाल सरकारले ५ डब्बा भएको यो दुई सेट ट्रेन भारतीय कोकन रेल्वे कर्पोरेशन लिमिटेडबाट भ्याट भन्सार लगायत शुल्क बाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरेको हो।
यो सुरुवात मात्रै भएको र अब रेल्वे कम्पनीले देशव्यापी रेल सञ्चालनका लागि योजना बनाएर काम गर्ने दावी महाप्रबन्धक भट्टराईले गरिरहेका छन्। उनका यस्ता दावीमा खासै चासो नभए पनि त्रिपाल ओढेर आराम गरिरहेको रेल हर्न बजाउँदै कहिले चल्ला र त्यसमा सयर गर्न पाइएला भन्ने प्रतीक्षामा छन् जनकपुरबासी।