कोरोनाको फेक न्युजले संक्रमित पत्रकार नै आतंकित

काठमाडौँ । सपरिवार कोरोना संक्रमित भएपछि झण्डै तीन साता आफै पनि पत्रकार रहनुभएका मदन खनालले सञ्चार माध्यममा आउने खबरहरु हेर्न, पढ्न तथा सुन्न पूर्ण रुपमा बन्द गर्नुभयो ।

‘सपरिवार (९जना) कोरोना संक्रमित भएर होम आइसोलेसन बस्दा सामाजिक संजाल र खबरहरु हेर्न सुन्न नै बन्द गर्नुपर्‍यो किनकी खोल्यो कि डरलाग्दा हेडलाइनमा भिडियो र खबरको मात्रै बाढी’, संक्रमणमुक्त भइसकेपछि उहाँले फेसकुकमा लेख्नुभएको छ।

‘कोरोनाका कारण यति जनाको मृत्यु’, ‘अन्य रोग नभएका संक्रमितको पनि मृत्यु’ ‘फलानो टोलका व्यक्ति पनि संक्रमित’ ’फलानोलाई पनि छोडेन’ जस्ता हेडलाइनले खनालको परिवारमा हौसला दिनुको साटो झनै डर र त्रास बढाएको थियो ।

‘संक्रमितले के गर्ने, के नगर्ने भन्ने विषयमा सयथरी कुरा, पढ्दै सातो जाने खालका हेडलाइन तर सकारात्मक र तथ्यपूर्ण खबरको उपस्थिति नगण्य’, खनालले भन्नुभयो, ‘कोरोना सम्बन्धी उपयुक्त जानकारी पाउनुको साटो डरलाग्दा खबरहरु मात्रै आउन थालेपछि सञ्चारमाध्यमबाट परिवार नै टाढा बस्यौँ ।’

हुन त कोरोना भाइरस (कोभिड–१९) महामाहरीको यो विषम् परिस्थितिमा त झन् सञ्चार माध्यमहरुलाई बढी सुनिएको, हेरिएको र पढिएको छ । तर बिकाउको लागि केही सञ्चार माध्यमले दिइरहेका अतिरञ्जित सूचनाले पाठक, श्रोता र दर्शकमा त्रास बढाउएको छ ।

कोरोना संक्रमित भएपछि पत्रकार मातृका पौडेल पनि अहिले होम आइसोलेसनमा हुनुहुन्छ । पौडेलले यो बेला कोरोना महामारीको समाचार हेर्नै नचाहेको बताउनुभयो । ‘यो समयमा समाचार हेर्नै चाहन्नँ किनभने वास्तविक भन्दा पनि शीर्षकहरु झनै अत्याउने किसिमका देख्दा मन डराउने हुन्छ मैले केही समय कोरोनाका समाचारबाट टाढै हुन चाहेको छु’, उहाँले भन्नुभयो ।

कोभिड महामारीभन्दा सूचनाको संक्रमण भाइरसको रुपमा फैलियो भने संक्रमित र आम नागरिकमा भयावह अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । ‘सरकारले हात खडा गर्यो, अब आफ्नो व्यवस्था आफै गर्न पर्छ जस्ता शीर्षकमा समाचार आउँदा संक्रमितमा मानसिक असर पर्ने हुन्छ’, पौडेलले भन्नुभयो ।

उहाँले बेहोस भएपछि मात्रै अस्पताल आउन मन्त्रालयले गरेको आग्रहबारेको समाचारले पनि त्रास बढाएको बताउनुभयो । ‘कि सरकारले त्यो कुरा भन्न जानेन कि भने मिडियाले प्रस्तुत गर्न जानेन, जनतामा त्रास सृजना गर्ने काम मात्रै भयो’, उहाँले भन्नुभयो ।

यस्तै पत्रकार सविन शर्माको पनि भनाइ उस्तै छ । कोरोना संक्रमित यति थपिए, यतिको ज्यान गयो भन्दा पनि कस्तो लक्षण भएका संक्रमितले के कुरामा ध्यान दिने? कस्तो खाना खाने जस्ता कुरामा समाचार सामग्री बन्नुपर्ने उहाँको भनाई छ ।

‘हिजो म आफै डेक्समा हुँदा पनि यस्ता समाचारमा ध्यान दिन सकेको रहेनछु भन्ने कुरा आफै संक्रमित हुँदा थाहा भयो’, उहाँले भन्नुभयो, ‘ कोरोना संक्रमित र मृतकको बारेमामात्रै लेख्नु गलत रहेछ ।’

कोरोना पोजिटिभ पछि सशस्त्र प्रहरी बल र हाल नेपाल सरकारले कोभिड अस्पतालको रुपमा स्थापन गरेको १० दिन आइसोलेसन बसेर घर फिर्किनुभएका अर्का पत्रकार कृष्ण लोथ्यालले पनि आइसोलेसनमा रहँदा समाचार पढ्नमा ध्यान नदिएको बताउनुभयो ।

‘आइसोलेसनमा हुँदा कोरोना बारे नकारात्मक समाचार नआएको भए हुन्थ्यो भन्ने महसुस भयो, म पत्रकारलाई त यति डर लाग्यो भने आम नागरिकलाई झन् कस्तो भएको होला’, उहाँले भन्नुभयो ।

कोरोनाको बारे सकारात्मक समाचार सुन्दा पढ्दा संक्रमितको हौसला बढ्ने हुँदा त्यस्तो समाचारलाई प्राथमिकता दिनुपर्ने पत्रकार सुरेश बिडारीको भनाइ छ । बिडारीले कोरोना संक्रमणको समयमापनि समाचार लेख्न छाड्नुभएन । आफु संक्रमित हुँदाहुँदैपनि आम नागरिकलाई सुसुचित गराउनपर्छ भन्ने सोचले उहाँ आफ्नो काममा लागिरहनुभयो ।
संक्रमणमुक्त भइसकेका उहाँ भन्नुहुन्छ, ‘कुनैपनि मिडियाले आफूलाई चर्चित बनाउने होडबाजी गर्न हुन्न, यो महामारीमा त झन् गर्नै हुन्न, संयमित भएर काम गर्नपर्छ, संक्रमित र आमजनताको आत्मबल बढाउने काम गर्नुपर्छ । ’

वरिष्ठ पत्रकार तीर्थ कोइराला नेपाली मिडियामा कोरोना कहरका बेला उपयुक्त जानकारीसहितका सामग्री प्रकाशन प्रशारणमा कमजोरी नै रहेको बताउँनुहुन्छ ।

‘केही सञ्चार माध्यमले राम्रो पनि गरेका छन् तर कतिपय कुराहरु तथ्यमा भन्दा हल्लाको भरमा बढी प्रकाशन, प्रशारण भए’, कोइरालाले भन्नुभयो ।

उहाँ अगाडि भन्नुहुन्छ, ‘सामाजिक संजाललाई नेपालका प्रमुख सञ्चारमाध्यमले प्रभावित पार्नुपर्ने अवस्थामा सामाजिक संजालबाट प्रमुख सञ्चारमाध्यम प्रभावित भएकाले कतिपय कुराहरु यथार्थमा नपुगि नै आउने गरिरहेका छन् यो मुलधारको पत्रकारिताका लागि चुनौती नै बनेको छ ।’

संकटको यो समयमा सञ्चारकर्मीहरुलाई कार्यकुशलता सम्बन्धी तालिमको अभाव समेत खड्केको आफूले पाएको कोइरालाले बताउनुभयो ।
कोरोना महामारीको समयमा आम नागरिक, स्थानीय सरकार, नागरिक समाज, र स्वयं हरेक व्यक्तिको भूमिका प्रष्ट पार्ने कुरामा पनि नेपाली सञ्चार माध्यम चुकेको कोइरालाले बताउनुभयो ।

‘हामीले या त सरकारलाई गाली गर्यौँ, या त सत्ताको चाकडी गरयौँ’, उहाँले भन्नुभयो, ‘तीनै तहका सरकार, नागरिक समाज र स्वयं व्यक्तिलाई झक्झक्याउने काममा हामी पछि पर्‍योँ ।’

कोरोना संक्रमणको अवस्थाबारे मिडियाले संख्या मात्रै गनेर बसेको वरिष्ठ पत्रकार किरण नेपालको पनि अनुभव छ ।  ‘संख्या नै गन्ने कुरामा पनि संक्रमणमुक्त भएको विषय मिडियाको प्राथमितामा परेन’, उहाँले भन्नुभयो, ‘सकारात्मक समाचारहरुलाई पनि प्राथमिकता दिन सकेको भए जाती हुन्थ्यो ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘मिडिया भनेको के हो भन्ने कुरा बुझ्न पनि जरुरी छ, सामाजिक सञ्जालमा आएका सबै सत्य खबर होइनन, पाठकले सूचना र समाचारका लागि सत्य मिडिया पहिचान गर्न सक्नु पनि चुनौतीको विषय बनेको छ।’

वरिष्ठ पत्रकार शिव गाउँले कोरोनाको यस महामारीमा आईपर्ने चुनौती, जोखिम र जोखिमका परिणाम केछ भनेर सञ्चारमाध्यमले सुसुचित गराउनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउँनुहुन्छ ।

सञ्चार माध्यमकै सही सूचनाले सरकारलाई पनि ठूलो निर्णय लिनका लागि मद्दत गर्ने उहाँको भनाई छ । तर कोरोना महामारीमा नेपाली मिडियाको भूमिका सकारात्मक नै रहेको उहाँको दाबी छ ।

‘नेपाली मिडियाको अवस्था, सामथ्र्य र क्षमताको आधारमा हेर्दा त्यति धेरै गुनासो गर्नुपर्ने ठाउँ छैन, सूचना दिने काम गरिरहेको छ । त्यसभित्र सामान्य कमी कमजोरी त रहन्छन् नै’, उहाँले भन्नुभयो।

‘सञ्चारमाध्यमको प्रमुख काम आमनागरिकलाई सहि सूचना दिने हो, र समाजमा हाम्रो दायित्व उत्प्रेरकको हो भन्ने पनि बिर्सन हुँदैन’, युवा पत्रकार बसन्त बस्नेत भन्नुहुन्छ, ‘ आशा जगाउने नाममा हुँदै नभएका गलत कुराहरु पनि मिडियामा ल्याउनु हुँदैन ।’

संक्रमितको संख्यामा मात्रै सीमित र केन्द्रीत हुन छाडेर संक्रमणमुक्त भएकाहरुको अनुभवका कथाहरु पनि मिडियामा छ्यापछ्याप्ती आउनुपर्ने बस्नेतले बताउनुभयो ।

सञ्चारले कोरोनाको यो महामारीमा मुख्य दायित्व मानेर काम गरिरहेको वरिष्ठ पत्रकार प्रतिक प्रधानको भनाइ छ । प्रधान भन्छन् ‘हाम्रो समाजमा दुई थरिका मान्छे छन् एक कोरोना केही होइन लकडाउन गर्न हुँदैन, कोरोनासँग लडेर जित्नपर्छ, यसलाई बिस्तारै परास्त गर्नुपर्छ भनिरहेका छन् भने अर्काे थरीले कोरोना भयंकर हो, लकडाउन कडा गरेर जसरी पनि यो रोग निर्मुल पार्नुपर्छ भन्ने गरेका छन् मिडियाले यी दुवैथरी विचारहरुलाई स्थान दिनुपर्छ ।

नेपालमा कोरोना देखापरेको सुरुवाती अवस्थाको तुलनामा अहिले भने यस सम्बन्धी समाचारहरुको शैलीमा धेरै सुधार भइसकेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको भनाई छ ।

सुरुवातमा सञ्चारमाध्यम केही चुकेको, गलत सूचना बढि दिएको तथा अतिरञ्जित ढंगबाट प्रचार भए पनि अहिले त्यो हटिसकेको उहाँको दाबी छ । ‘अझै पनि केही मिडियाले आतिरञ्जित शिर्षकहरु राख्ने प्रवृति छ, यसमा प्रेस काउन्सिलले अनुगमन त ग¥यो तर अझैं प्रयाप्त भएन, फेरि कडा रुपमा गर्न जरुरी छ, काउन्सिलको सक्रियता आवश्यक छ’, उहाँले भन्नुभयो ।

‘विश्व स्थास्थ्य संगठन (डब्लुएचओ)ले सञ्चार माध्यमका लागि केही दिशानिर्देश गरेको छ । त्यो महासंघले पनि नेपाली सन्दर्भमा समावेश गरेर सार्वजनिक गरेका छौँ, यसको पालनामा थप जिम्मेबार बन्नुपर्छ’, उहाँले भन्नुभयो।स्रोत नेपाली नेटवर्क

प्रतिक्रिया दिनुहोस