आज प्रदेश ५ को राजधानीको विवाद टुङ्गिने, राजधानी दाङ बन्ने निश्चित

काठमाडौँ । प्रदेश ५ को राजधानी र नामाकरणको प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदै छ । सरकारले शुक्रवार प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी हुने भनी गरेको प्रस्तावमा आज मतदान हुने भएको हो ।
उक्त प्रस्तावमाथिको छलफल सोमबार सकिएको हो । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । संशोधन दर्ताको समय मङ्गलवार साढे १० बजे सकिएको छ । संशोधन प्रस्ताव बिहान साढे ८ बजेसम्म एउटा मात्र दर्ता भएको जानकारी आएको छ । बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको छ ।
बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार मङ्गलवार को बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यस लगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लगिने छ।

विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको प्रदेश ५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मङ्गलवार प्रदेशसभा बैठकमा हुन गइरहेको मतदानमा सरकारी निर्णयको विपक्षमा मतदान गर्न ह्‌विप जारी गरेका हुन् ।

कनौडियाले काँग्रेसका १९ प्रदेशसभा सदस्यहरूलाई लिखित रूपमै सरकारको निर्णयको विपक्षमा मतदान गर्न पत्र दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ का प्रदेशसभा सदस्य डिल्लीबहादुर संसदीय दलले जारी गरेको ह्विप आफूहरूलाई मान्य नभएको बताएका छन् । सरकारले प्रस्ताव गरेको प्रदेश ५ को राजधानी दाङ सबै जिल्लाहरूका लागि पायक पर्ने ठाउँ रहेको दाबी गर्दै सरकारले गरेको विपक्षमा मतदान नगरिने चौधरीले बताए ।
सोमबार काँग्रेसको विरोधका बीच बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङ प्रस्ताव छलफलका लागि पेस गरेका थिए । उक्त प्रस्तावमाथि मङ्गलवार छलफल गरेर मतदान प्रक्रियाबाट टुङ्गो लाग्ने छ । प्रदेशसभाको आज बस्ने बैठकमा स्थायी राजधानी र नामकरण टुङ्गो लगाउने तयारी छ ।
प्रदेशसभामा नेकपाले आफ्ना सांसदलाई ह्विप जारी गरेर दाङको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ । प्रदेश सभामा नेकपामा ६१ सांसद छन् । नाम र राजधानी टुङ्गो लगाउन दुई तिहाइ मत आवश्यक पर्छ । ५८ जना सांसदले दाङको पक्षमा मतदान गरेमा राजधानी दाङ हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस