राजधानी दाङ सार्ने प्रस्तावलाई कांग्रेसका १० नेताको समर्थन

काठमाडौं । प्रदेश- ५ को राजधानी दाङ बनाउने प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १० नेताले स्वागत गरेका छन् । प्रदेश- ५ का आधा दर्जन केन्द्रीय सदस्य प्रदेशको राजधानी दाङको भालुवाङ सार्ने पक्षमा देखिएका हुन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरू दीपक गिरी, किशोर सिंह राठोर, पार्वता डिसी चौधरी, शीला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरले प्रदेश- ५ सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताएका छन् ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य कांग्रेस बर्दियाका नेता सञ्जय गौतम र रोल्पाका कांग्रेस नेता अमर सिंह पुनले पनि प्रदेश सरकारको निर्णयको समर्थन गरेका छन् ।

यद्यपि, कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृण खाण, केन्द्रीय सदस्य चन्द्र भण्डारी प्रतिनिधिसभा सदस्य भरत शाह, देवेन्द्र कँडेललगायतका नेताले निर्णयमा विरोध जनाएका छन् । कांग्रेसमा जस्तै सत्तारूढ नेकपामा पनि साबिकको लुम्बिनी अञ्चलका नेताहरूले निर्णयमा असहमति जनाएका छन् भने अन्यले भने निर्णयलाई स्वागत गरेका छन् ।

यस्तै, आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रतिपक्षले विरोध जनाएपछि बैठक भोलिसम्मका लागि स्थगित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुखले विरोधका बाबजुत प्रस्ताव पेस गर्न भनेपछि विपक्षी सांसदहरूले कुर्ची तोडफोडमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस