महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औंल्याउनु भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश–२ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्गम गरेर सरकारले प्राविधिक र ब्यवहारिक शिक्षामा जोड दिएको बताउनु भएको हो ।
सरकारले मुलुकका सबै स्थानीयतहमा प्राविधिक शिक्षा पु¥याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीयतह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ । जीवनोपयोगी ब्यवहारिक शिक्षा बढाउन अब जडिबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता बिषय समावेस गरिएको मन्त्री पोखरेलले बताउनुभयो । शिक्षाले ज्ञान, सिप दिनसँगै चरित्र निर्माण गर्ने उदेश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ ।
पछिल्लो समय कोविड–१९ सङ्क्रमण सन्त्रासले बिद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले बिद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाईका अभ्यास गराउन पर्ने पोखरेलले बताउनुभयो । “परिस्थितिवस बिद्यालय बन्द हुन सक्छन्, जस्तोकि अहिले बन्द गरिएका छन््”मन्त्री पोखरेलले भन्नुभयो–, “तर, शिक्षा लिने÷ दिने प्रकृया बन्द हुँदैनन्, बन्द गरिनु हुदैन ।” वैकल्पिक सिकाई पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ ।
बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश–२ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ । यसका लागि एसएलसी (कक्षा–१२) मा कम्तीमा ‘डि+’ अङ्क ल्याई उतिर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । यसपाली ८० जना यो लेभलको अध्ययनका लागि छनौट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिबेन्द्र मल्लिकले जानकारी दिनुभयो । यसका अतिरिक्त छोटो अवधीका सिपसम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ ।
नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपाली होटल ब्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ । यसपाली प्रदेश–२ को बर्दिवास, प्रदेश–१ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरि सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दिपककुमार थापाले जानकारी दिनुभयो ।
प्रतिष्ठानको शाखा कार्यालय सञ्चालनले अहिले बिश्व श्रमबजारमा राम्रो ठाउँ ओगटेको होटल मेनेजमेन्ट बिषयको प्रयोगात्मक पठनपाठन र सिप अभिबृद्धिका छोटा अवधीका तालिम आफ्नै ठाउँमा लिन पाइने कुराले महोत्तरी र आसपासका क्षेत्रमा उत्साह छाएको छ ।