काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण भएको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको हो।
काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिरहँदा उच्च पदस्थहरु पनि संक्रमित हुन थालेका हुन्।
प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि गर्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।
त्यसैगरी प्रेस सल्लाहकार थापाले पनि शुक्रबार गरिएको पिसिआर परीक्षणले आफूमा पनि कोरोना पुष्टि भएको बताएका छन्। उनले यसबीचमा सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि आफूलाई कोरोना भएको पुष्टि सामाजिक सञ्जालमार्फत गरेका छन्। उनले पनि आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन्।