डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै,केसीको समर्थनमा पक्राउ परेका रिहा

काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशन बस्नु भएका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । उहाँको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।

‘अनशनको १३ दिन भइसक्यो,स्वास्थ्यस्थिति उच्च जोखिममा छ । कुनै पनि समय आईसीयू लग्नुपर्ने स्थिति आउन सक्छ,’ उपचार टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले भन्नुभयो, ‘रगतसम्बन्धी प्रतिवेदनअनुसार सेतो रक्तकणिकाको संख्या एकदम कम भएकाले संक्रमणको उच्च जोखिम छ ।’ अनशनका कारण उहाँँको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फोस्फोरस र रगतमा सेतो रक्तकणिकाको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा.केसीको मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने समस्या भोगीरहनु भएको छ । यसले गर्दा मुटुको चालमा असामान्यता आउने सम्भावना समेत छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थाल्नु भएका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनु भएको हो ।
हाल उहाँलाई थकाइ, रिंगटा, धड्कन, मांसपेशी बाउँडिने र दुखाइको समस्यासमेत देखिएको छ ।

यसैबिच डा. केसीको समर्थनमा हिजो शनिबार माइतीघर मण्डलामा युवाले गरेको प्रदर्शनबाट पक्राउ परेका १७ जनालाई प्रहरीले बेलुका रिहा गरेको छ । उनीहरूले ‘सक्कली ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस