मुम्बई । बलिउडका थुप्रै कलाकार लागूऔषध दुव्र्यसनी भएको चर्चा चलिरहेको बेला त्यहाँका चार जना अभिनेत्रीले लागूऔषधबारे बयान दिनुपरेको छ । बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रित सिंहले यस्तो विषयमा बयान दिनुपरेको हो । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनी लागूऔषधको दुव्र्यसनी थिए भन्ने खुलासा भयो । त्यसपछि एकएक गर्दै थुप्रै कलाकार अहिले लागूऔषध दुव्र्यसनी प्रकरणमा तानिएका छन् । उनीहरूविरुद्ध त्यहाँको ‘नारकोटिक्स कन्ट्रोल ब्युरो’ले अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानकै क्रममा अभिनेत्री दीपिका पादुकोणले सो ब्युरोले शनिबार बोलाएर बयान लिएको हो । बयानको क्रममा अभिनेत्री दीपिकाले आफू लागूऔषधको दुव्र्यसनी नभएको बयान दिएको बताइएको छ । उनी लागूऔषधको दुव्र्यसनी भएको फिल्मको छायांकनको क्रममा लागूऔषध लिने गरेको र अरू बेलामा विभिन्न पार्टीमा समेत लागूऔषध लिएको भन्दै उनको विरुद्ध उजुरी परेको थियो ।
अभिनेत्री दीपिका र उनको म्यानेजर करिश्माबीच लागूऔषध सेवनको बारेमा भएको कुराकानी बाहिरिएको आधारमा परेको उजुरीलाई मध्यनजर राख्दै आफूहरूले उनीसँग बयान लिएको ब्युरोले बताएको छ । दीपिकाको म्यानेजर करिश्मासँग पनि ब्युरोले बयान लिएको छ । उनीहरूसँग भएको कुराकानीबारे ब्युरोले खुलासा गरेको छैन ।
यता शनिबार नै अभिनेत्री सारा अली खान, श्रद्धा कपुरलाई बयानका लागि बोलाएको थियो । उनीहरूले ब्युरोमा गएर बयान दिएका छन् । बयानको क्रममा अभिनेत्री श्रद्धा कपुरले आफू सुशान्त सिंहको राम्रो साथी भएको र उनीसँग थुप्रैपटक पार्टीमा गएको बताएकी छन् । तर, आफूले सुशान्तसँग कहिल्यै लागूऔषध सेवन नगरेको र आफू लागूऔषधको दुव्र्यसनी नभएको पनि उनले बयानको क्रममा बताएकी छन् । आफूलाई बदनाम गर्न कसैले यस्तो उजुरी दिएको पनि अभिनेत्री श्रद्धाको भनाइ छ ।
शनिबार नै अभिनेत्री सारा अलि खानले पनि ब्युरोमा बयान दिएकी छन् । उनले दिएको बयानको बारेमा ब्युरोले सञ्चारकर्मीलाई बताएको छैन । साराले बयानका लागि थप समय मागेकाले उनीसँग फेरि बयान लिनेबारे विमर्श भइरहेको पनि ब्युरोले जनाएको छ । अभिनेत्री सारा अली खान फिल्म केदारनाथको छायांकनको क्रममा लागूऔषधको दुव्र्यसनीमा फसेको आरोप लागेको छ ।
यसअघि पक्राउ परेका केही लागूऔषध दुव्र्यसनी तथा वितरकहरूको बयानको आधारमा यी अभिनेत्रीहरूलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले बयानका लागि बोलाएको हो । यस्तै, अर्की अभिनेत्री रकुल प्रित सिंहलाई पनि बयानका लागि ब्युरोले बोलाएको छ । उनले शनिबार बयान दिन भ्याइनन् ।
स्रोत : राजधानीडेली