काठमाण्डौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरस कोभिड-१९ संक्रमणका कारण पत्रकारिता क्षेत्रमा परेको प्रभावको सर्वेक्ष्ण नतिजा सार्वजनिक गरेको छ ।
महासंघले कोरोना महामारी र नियन्त्रणका लागि भएको लकडाउन तथा निषेधाज्ञाका कारण नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि यस्तो सर्वेक्षण सार्वजनिक गरेको हो ।
सर्वेक्षणका अनुसार महामारी तथा लक डाउनका कारणको असर श्रमजीवी पत्रकारहरुमा बढि देखिएको छ । मिडिया क्षेत्रको आम्दानी घटेकाले त्यसको प्रत्यष असर श्रमजीवी पत्रकारमा देखिएको हो ।
आम्दानीमा कमी आएका कारण नियमित पारिश्रमिक भूक्तानी गर्न नसक्ने सञ्चार गृहको संख्या करिब १४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । ती मध्ये धेरैले लक डाउन लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् ।
साथै, कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने गरेको पनि पाइएको छ । ७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् ।
कोरोना महामारी र लक डाउनका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने सर्वेक्ष्णले देखाउको छ । ७.२ प्रतिशत पत्रकार तथा मिडिया सञ्चालक पत्रकार यस क्षेत्रको भविष्यप्रति निरास छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य अन्योलमा रहेको ठान्छन् ।
४० प्रतिशत भन्दा बढी पत्रकारहरुको पेशा तथा आम्दानीमा महामारी र लकडाउनको प्रत्यक्ष असर परेको देखिन्छ । यस्तो असर परेका पत्रकारहरुमा पुरुषको दाँजोमा महिला पत्रकारको अनुपात बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
समस्यामा परेका पत्रकार मध्ये ६१ प्रतिशतले बचतको उपयोग गरेको, ४५ प्रतिशतले घरखर्चमा कटौती गरेको, ३७ प्रतिशतले ऋण लिएर र १२ प्रतिशतले आफन्त तथा साथीभाइसँग सापटी लिएर घरखर्च चलाएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थात महामारकिा कारण दुई तिहाई पत्रकारहरुलाई आफ्नो दैनिक घरखर्च चलाउन समस्या परेको देखिएको छ ।
अधिकांश पत्रकारहरुले महामारीको यो अवधीमा समाचार संकलन तथा सम्प्रेषणका क्रममा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् ।
मास्क र स्यानिटाइजर जस्ता सामग्री उपलब्ध भए पनि अस्पताल तथा संक्रमित व्यक्तिहरु भएका स्थानमा रिपोर्टिङ गर्न जाँदा पिपिइको अभावका कारण आफूहरुले असुरक्षित महसुस गरेको पाइएको छ ।