‘पाखे’ र ‘एक पाखे’ (सम्पादकीय)

काठमाडौं । मेरो विवाह जनवादी तरिकाले विक्रम सम्वत् २०४७ मा भक्तपुरको कटुन्जेमा भएको थियो । देशमा भर्खरै बहुदलीय व्यवस्था आएकोले विवाहको लागि एक सार्वजनिक समारोह आयोजना गर्ने र दुलहा दुलहीलाई सुखद् दाम्पत्यको शुभकामना दिने कार्यक्रम तय गरियो । एक परम्परागत पण्डितको परिवारमा यसरी विवाह हुन लागेको कुराले निकै परसम्म त्यसबारे कौतुहलता थियो । कसरी गर्छन् के—के भन्छन् भन्ने व्यग्रता थियो । पाँच सयभन्दा बढी मानिस भेला भए ।

योजनामुताविक नै विवाह आयोजना भयो । पार्टी नेताहरु र आफन्तले मञ्चबाट शुभकामना र बधाई दिए । अन्तिममा दुलहाको रुपमा मैले आफ्नो मन्तव्य राख्ने क्रममा “आज मसंग वैवाहिक सम्बन्धमा बाँधिनु हुने कमरेड कविता लुईंटेलसंग मेरो धेरै पहिलेदेखि नै राजनीतिक सम्बन्ध रहिआएको छ किनभने अनेरास्ववियु भक्तपुर जिल्ला कमिटीमा हामी संगै लामो समयदेखि काम गर्दै आएका छौं । हामी एक अर्काको दुःख सुखसंग परिचित छौं । त्यसकारण हामीलाई मिलेर जीवन—संघर्ष गर्न गाह्रो हुने छैन ।”

भोलिपल्टदेखि कटुन्जे गाँउ र वरपर हाम्रो विवाहको बारे यसरी कुरा काटिएछ—“निर्मल र कविताको त पहिलेदेखि नै सम्बन्ध रहेछ नि ! पण्डितको खलकको नाक काटी कविताले । त्यो नकचरो निर्मलले कवितासंग पहिलेदेखि नै सम्बन्ध थियो भनेर त्यत्रा मानिसका अगाडि कसरी भाषण गर्न सकेको !” गाउँलेले रातारात मेरो भाषणबाट ‘राजनीतिक’शब्द चपाईदिएछन् !
हाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको एउटा अन्तरवार्ता प्रकरणमा त्यस्तै घटना घटेछ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्बारे सोधिएको एक प्रश्नमा “…..कुलमानबारेको त्यो सोचाई एकपाखे हो भनेका रहेछन् । उनको त्यो अन्तरवार्ताको उपरोक्त अंशलाई सूर्य थापाले “कुलमानलाई पुनःनियुक्ति गर्नुपर्छ भन्नेहरु सबै पाखे हुन् !” भन्यो भनेर डंका पिटाइएछ ।

यसरी नै विषयबस्तुलाई बङ्ग्याउने हो भने त ‘सत्य’ र ‘वास्तविकता’ ‘यथार्थ’जस्ता शब्दहरु नेपाली शब्द कोशबाट हटाई दिए हुन्छ ।
दोश्रो विश्वयुद्ध ताकाका वेलायती प्रधानमन्त्री विस्टन चर्चील भन्दथे—सत्य उठेर जुत्ता लाउन नभ्याउदै असत्यले आधा विश्व घुमिसकेको हुन्छ । हाम्रोमा त सत्यको त उठ्नै नपाई ज्यान जाने भो ! असत्यमात्र घुमिरहने भो !

प्रतिक्रिया दिनुहोस