पेट्रोल ट्याङ्कर नदीमा खसेर आगलागी, चालक र सहचालक प्रहरीको सम्पर्कमा

धादिङ । त्रिशूली नदीमा खसेको पेट्रोल बोकेको ट्याङ्करका चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका-६ चरौँदीबाट आइतबार बिहान त्रिशूली नदीमा खसेर आगलागी भएको थियो ।

उक्त ट्याङ्करका चालक हेटौँडा-१० का सुदिप बोहरा र सहालक हेटौँडा -३ का मनिष नगरकोटी प्रहरीको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

केहीबेरअघि सम्पर्कमा आएका उनीहरुले ट्याङ्करको स्टेरिङ फेल भएका कारण नदीमा खसेको र आफूहरुले हाम फालेर ज्यान जोगाएको बयान प्रहरीलाई दिएका छन् । दुवैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । ट्याङ्करमा चालक र सहचालक बाहेक अरु मानिस नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस