भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि लकडाउन खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरीले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ ।

लामो तथा छोटो दुरीका यात्रुबहाक सवारी साधन सुचारु भएसँगै सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई प्राथामिकतामा राखी विभिन्न विद्यालय र कलेजहरुसँगको समन्वयमा भर्चुअल माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन सुरु भएको गण्डकी प्रदेशका कार्यालय प्रमुख एसपी प्रभु ढकालले बताए ।

असोज २ गते पोखरा महानगरपालिका– ७ मासवारस्थित मदरल्याणड उच्च माविमा कक्षा १२ मा अध्यनरत १२५ जना विद्यार्थीहरुलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनिकरण, स्कटुर तथा मोटर साइकल जस्ता साना सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, विद्यमान मुख्य–मुख्य ऐन नियमहरु र कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा एसपी ढकालले प्रशिक्षण दिएका थिए ।

साथै आगामी दिनहरुमा अन्य स्कुल तथा कलेजहरुमा समेत प्रशिक्षण कार्यलाई निरन्तरता दिइने कुरा पनि एसपी ढकालले बताए । विशेष गरेर दुई पाग्रे सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने हुँदा दुई पाग्रे सवारी साधनलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालनमा आएको हो ।

एसपी ढकालले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहतका सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले डिउटीको क्रममा सवारी चालकसँग कुरा गर्दा नमस्कार गरी आदर सम्मान प्रकट गर्ने, कोरोना भाइरसको महामारीबाट सुरक्षित रही सामाजिक दुरी कायम गर्दै कर्तव्य पालना गर्न समेत निर्देशन दिएका छन् ।

आम सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सवारी सञ्चालन तथा सडक प्रयोग गर्न के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने बारेमा विविध जानकारी गराउने उद्देश्यले विभिन्न ट्राफिक नियम, चिन्ह संकेत तथा सुरक्षित सड्क प्रयोग सम्बन्धि जानकारी मूलक बोर्डहरु मार्फत सचेतना जागृत गराउने काम पनि भइरहेको एसपी ढकालले बताए । आफु मातहत कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरु संग तोकिएको जिम्मेवारी कार्यान्वयन गर्न सहकार्य र समन्वयको बिकास गर्ने तथा कर्मचारीहरुको आत्मवल र मनोवल उच्च राख्दै सामुहिक भावनाको अभिवृद्धि गर्ने उदेश्यले प्रत्येक हप्तामा एक पटक आफ्नो सहकर्मी कर्मचारी संग सामुहिक भोजन गर्ने कार्य योजना अनुरुप यस गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल आफ्नो मातहतका कर्मचारीसंगै बसेर खाना खाए /

प्रतिक्रिया दिनुहोस