धनुषाको बटेश्वर गाउँपालिकामा सरकारी गाडीमा निजी नम्बर प्लेट

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकाका उपाध्यक्षले सरकारी स्कुटीमा निजी नम्बर प्लेट राखेर चढ्दै आएको खुलासा भएको छ । उपाध्यक्ष प्रमिलादेवी महतोले विगत ३ वर्षदेखि गाउँपालिकाकाले उपलब्ध गराएको सरकारी गाडी स्कुटिमा ज १० प ९१८२ को निजी नम्बर प्लेट राखेर चढ्दै आएको खुलासा भएको हो ।

२०७४ साल असोज २ गते सकिएको तेश्रो चरणको स्थानीय निवार्चमा उहाँ निवार्चित भएपछि गाउँपालिकाले जनताको सहज पहुँचको लागि गाडी दिनुभन्दा पहिला नै उहाँले आफ्नै पैसाबाट गाडी खरिद गरेको थियो । पछि गाउँपालिकाले उहाँलाई गाडी बापत करिब २ लाख रुपैयाँ दिएपनि गाडीको नम्बर प्लेट उहाँले निजी नै राखेको छ ।

श्रोतका अुनसार उपाध्यक्ष महतोले ३ वर्षदेखि उक्त गाडीमा निजी नम्बर प्लेट नै लगाइएको छ । तर महतोले अहिले सम्म गाडी चलाउन नजानेपछि कहिले उहाँको श्रीमान त कहिले उहाँकी छोरीले गाउँपालिका पुर्याउने गरेको छ । उपाध्यक्ष महतोले गाडी चलाउन नजानेकोले उहाँका पारिवारिका सदस्यले निजी प्रयोजनका लागि समेत गाडी प्रयोग गर्ने गरेको श्रोतको दाबी छ ।

गाउँपालका उपाध्यक्ष प्रमिलादेवी महतोलाई पटक पटक गाडीमा सरकारी नम्बर प्लेट लगाउन भने पनि उहाँले आज लगाउँछु भोलि लगाउँछु भन्दै आलटाल गर्दै आइरहेको छ,’ श्रोतले पालिका न्युजसँग भन्नुभयो, ‘उपाध्यक्ष महतोको कार्यकाल सकिएपनि गाडीमा निजी नम्बर प्लेट भएकोले गाउँपालिकामा बुझाउन नपर्ने भएकोले यस्तो गरेको हुनसक्छ ।’

बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिलादेवी महतोले चुनावको १० महिना यता आएर गाउँपालिकाले एउटा स्कुटी दिएको बताउनुभयो । स्कुटी बापत गउँपालिकाले करिब पौने २ लाख रुपैयाँ दिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले गाडीको पैसा दिएपनि गाडीमा निजी नम्बर रहेको प्रश्नमा गाउँपालिकाको हाकिमलाई भनेपछि कागजी प्रक्रिया पूरा गरेर सरकारी नम्बर प्लेट लगाइदिने भनेपनि कोरोना भाइरसको कारण चैत यता लकडाउन भएकाले नम्बर प्लेट परिवर्तन हुन नसकेको उपाध्यक्ष महतोले बताउनुभयो ।

यता यस विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले स्कुटी गाउँपालिकाले खरिद गरेको जिकिर गर्नुभयो । स्कुटि गाउँपालिकाको नाउँमा रहेको छ । अध्यक्ष राउतले गाडीमा सेतो प्लेट भइसकेको भनेपछि हिजो नै उपाध्यक्षको गाडीमा रातो नम्बर प्लेट भएको ज १० प ९१८२ रहेको प्रश्नमा उहाँले नम्बर प्लेट परिवर्तन भइसकेको खबर पाएको बताउनुभयो ।

उपाध्यक्ष महतोले गाउँपालिकामा पटक पटक सरकारी नम्बर प्लेट लगाउन भनको प्रश्नमा अध्यक्ष राउतले गाउँपालिकामा निरन्तर हाकिम बदलिएकोले हुन नसकेको बताउनुभयो । ‘एउटा हाकिमलाई भन्यो अर्काे आउँछ त्यले गर्दा अहिलेसम्म नम्बर प्लेट परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । अहिले नयाँ हाकिम आएकोले उहाँलाई भन्छु’ अध्यक्ष राउतले भन्नुहुन्छ ;

यस अगाडि पनि दोहोरो सेवा सुविधामा रमाउँदै आएकी उपाध्यक्ष प्रमिलाकोे समाचार स्थानीयसञ्चार माध्यममा प्रकाशन भएपछि समाचारको २४ घण्टा नबित्दै उहाँले स्वास्थ्य चौकीको स्वयम् सेबिका पदबाट राजीनामा दिनुभएको थियो ।

स्थानीय तहको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष हुनुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस