अचम्मको कोरोना रिपोर्टः जिउँदो छँदा पोजेटिभ, मृत्युपछि नेगेटिभ

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुनस् पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।

कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

मृत्यु हुनु भन्दा पहिले तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए । मृत्यु हुनु भन्दा पहिले संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले शव दाह संस्कारका लागि आइतबार नै परिवारजनको जिम्मा लगाइएको कोभिड अस्पतालले जनाएको छ ।

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ । साउन यतामा मात्रै ५७ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६१ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना , बाराका १३ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ।

प्रतिक्रिया दिनुहोस