आराेप प्रमाणित भए जेल जान तयार छु : बाँस्कोटा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा अडियो सार्वजनिक भएसँगै सरकारका प्रवक्ता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गाेकुल बाँस्कोटाले अनुसन्धानमा कुनैपनि किसिमको राजनीतिक प्रभाव नपराेस् भन्दै नैतिकताको आधारमा मन्त्रीबाट राजिनामा दिए। त्यसपछि उनले बारम्बार भनिरहेका छन्, “सार्वजनिक उत्तरदायित्वकाे सिद्धान्त अनुसार आराेप लागिसकेपछि छानबिनलाई सघाउन राजिनामा दिएँ, तथ्यका आधारमा छानबिन हाेस्, आराेप पुष्टि भए जेल जान तयार छु।”

उनी थप्छन्, ‘१२० पेजको डकुमेन्ट छ। धेरैले डकुमेन्ट र तथ्यलाई अध्ययन नै गरेनन्। सार्वजनिक अडियोमै धारणा बनाएर समाजको एक तप्का बहकियाे। फेरि पनि भन्छु, ‘अनुसन्धान जारी छ आराेप प्रमाणित भए जेल जान्छु।’

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा आफूलाई लागेको आराेपमा मुख्यतः निम्न ४ कारण जाेडिएकाे पनि उनले बताए। ती चार कुराहरु यस्ता छन्:

१) सर्वप्रथम सेक्युरिटी प्रिन्टिङमा जम्मा ३ वटा प्याकेज हुन्छ- नाेट, पेपर र कार्ड। नाेट भन्नाले बैंक नाेट। पेपर भन्नाले पासपोर्ट, जग्गाधनी पुर्जा, शैक्षिक प्रमाण पुर्जा लगायत अरू थुप्रै पर्छन्। कार्ड भन्नाले डेबिट- क्रेडिट, मतदाता परिचयपत्र, नागरिकता, ड्राइभिङ लाइसेन्स लगायतका पर्छन्।

सेक्युरिटी प्रिन्टिङ खरिद भनेको यसमा सरकारी सिस्टम स्थापना गर्ने भनेकाे हाे। अहिले वार्षिक १० अर्ब जति बाहिरिन्छ। अब सिस्टम आएपछि त ठेक्का पार्नेकाे व्यापार ठप्प हुने भाे। अझ नाेट ठेक्का पर्नेले यसाे गर्दा फेक करेन्सी प्राेडक्सन हुन्छ भन्छ। सामान्य बुझाैँ न राज्यको कन्ट्रोलमा रहेकाे सिस्टमबाट फेक करेन्सी प्राेडक्सन कसरी हुन्छ? पहिलो, देश आत्मनिर्भर नहाेस् भन्ने ठेकेदारको कारण हाे याे।

२) सेक्युरिटी प्रिन्टिङ खरिद जम्मा साढे २४ अर्बकाे प्रस्तावित स्टेटमेन्ट हाे। याे मेसिन केही मान्छेलाई परल मूल्यभन्दा बढीमा ल्याउनुपर्थ्याे त्यसैले २८/३०/३२/ ३५/ गर्दै ५२ अर्ब सम्मका प्रस्तावहरूलाई ल्याउने र भेटाउने काम भयाे। यस्तो बेइमानी म बाट हुन सक्दैन भनेपछि काम नहुने ताेडमा षड्यन्त्र रचियाे।

३) यसको अर्को कारण जग्गा पनि हाे। यसलाई दुई अढाई सय राेपनी जग्गा चाहिन्थ्याे। कसैलाई जग्गा बेच्नु थियाे। कसैलाई किनाउनु पर्ने थियाे अनि सरकारले महङ्गोमा किन्दिनुपर्ने थियाे। तर जग्गा किन्ने भन्दा पनि २३२ राेपनीमा फैलिएको IT पार्कमा राखिने निधाे भयाे। त्यसपछि क-कसलाई के चित्त बुझेन। मैले महङ्गोमा व्यक्तिकाे जग्गा किन्नुपर्थ्याे कि भएकैमा लाँदा ठिक भयाे?

४) प्राइभेटलाई दिएको भए चलखेल हुन्थ्यो या हुनसक्थ्याे। ५ वर्षसम्मकाे सबै जिम्मेवारी लिने सर्तमा सरकारदेखि सरकारसम्म काम हुने भनिएको हाे सेक्युरिटी प्रिन्टिङ खरिद। केहीलाई याे जिम्मेवारी प्राइभेटलाई नै दिनुपर्ने थियो तर जिम्मेवारी सरकारदेखि सिधै सरकारलाई गयाे। अब भन्नाेस्, कुन देशको सरकारले कुन देशको सरकारलाई घुस खुवाउँछ त? आजसम्म एउटा पुष्टि भएको उदाहरण छ?

बाँस्कोटासँगकाे भएकाे टेलिफोन कुराकानीमा अरू पनि थुप्रै स-साना कारणहरू रहेको तर मुख्यतः यिनै कारणहरू आफूले बुझेकाे उनले बताए। अन्तमा उनले भने, “आराेप लागिसकेपछि छानबिन र अनुसन्धान स्वतन्त्र ढङ्गले हुनुपर्छ। मलाई लागेको आराेपप्रति कसैले पनि दयामाया नराखिदिन अनुराेध छ।”

प्रतिक्रिया दिनुहोस