भोली बस्ने नेकपा स्थायी कमिटी बैठकले नयाँ मापदण्ड बनाउदै

काठमाडौँ । भोली भदौ २६ गते बस्ने नेकपा स्थायी कमिटी बैठकका लागि पेश हुन लागेको राजनीतिक प्रतिवेदनमा मन्त्रिपरिषद पुनर्गठन गर्दा मापदण्ड बनाईदैछ । निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद पुनर्गठन मापदण्ड पु¥याएर गर्ने उल्लेख गर्नुले मन्त्रिपरिषद पुनर्गठनको प्रष्ट संकेत दिएको छ । यसअघि कार्यदलले पनि मन्त्रिपरिषद पुनर्गठनका लागि सुझाव दिएको थियो ।

भदौ १९ गते बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै हेरफेरबारे आफूले केही नसोचेको भन्दै मन्त्रालयको कमाण्ड सम्हालेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो ।

यद्यपि, प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरूसँग मन्त्रिपरिषद पुनर्गठन गर्ने सोचमा रहेको बताउने गर्नुभएको छ ।
भदौ २० गते कार्यकाल सकिएसँगै अर्थमन्त्री एवम् सञ्चार मन्त्री युवराज खतिवडाले राजीनामा दिई सक्नुभएको छ ।
खतिवडाको राजीनामासँगै दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिनुभएको छ । गत फागुनदेखि सहरी विकास मन्त्रालयपनि खाली छ । यसको जिम्मेवारी भने भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङले सम्हालनुभएको छ ।

प्रतिक्रिया दिनुहोस