सुरु भयो,‘नागरिक पेन्सन योजना’

काठमाडौँ । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ ।
सबै नेपालीलाई यो योजनामा समेट्नेगरी ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिनुभयो ।

कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने उहाले बताउनुभयो । ‘न्यूनतम मासिक ५ सय बचत गर्नुपर्छ, त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने छ । बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन प्राप्त गर्नेछ ।
नागरिकले यसरी जम्मा गरेको रकम कोषले विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सो लगानीको प्रतिफल समेत जोडेर ६० वर्ष पुगेपछि पेन्सनका रुपमा दिइने सिलवालले बताउनुभयो । जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुनेछ ।

यदी कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता गरिने उहाले बताउनुभयो । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन । कृषि गर्ने, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका वा अरु कुनै पनि निजी क्षेत्रमा कार्यरत नेपाली नागरिक यस योजनामा सहभागी हुन सक्छन् ।

मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ। तर बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्ने छ ।
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ ।
नागरिक लगानी कोष (व्यवस्थापन) विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तिमा १५ वर्ष योगदान (बचत) गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस