सडक निर्माण उपभोक्ता समितिमा श्रीमान-श्रीमती अध्यक्ष, करोडभन्दा बढी कुम्ल्याएको आरोप

बझाङ :- जिल्लाको दुर्गाथली गाउँपालिकाको विनायक–चुवावन सडक खण्डको निर्माण समितिले डोजर सञ्चालकलाई रकम नदिएको भेटिएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विक ‘किरण’ र उनकै श्रीमती शारदा विक उपभोक्ता समतिमा अध्यक्ष छन् । वडा नं ६ र ५ अन्तर्गतको विनायक–चुवावन सडक खण्डको भलानेदेखि पान्डाडासम्मको सडकमा श्रीमती र पान्नडाँडा चुवाबन खण्डमा श्रीमान् अध्यक्ष भएर काम गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७५।०७६ मा जिल्लाको दुर्गाथली गाउँपालिका वडा न. ५ र ६ विनायक–चुवावन सडकखण्ड निर्माणका लागि तत्कालिन उपभोक्ता समितिका अध्यक्ष शारदा कुमारी विक र दुर्गाथली ६ का राजमल जाग्रीबीच निर्माण कार्यका लागि एक्साभेटर परिचालन गर्ने सम्झौता भयो । सम्झौता पत्रमा प्रतिघण्टा ७ हजार ५ सय रुपैयाँका दरले मेसिन भाडामा लिने, उपभोक्ता समितिले मेसिनको हेरविचार गर्ने, मेसिन भाडामा लिइसकेपछि कुनै विवादका कारण काम रोकिन गएमा समितिले नै भाडा व्यहोर्नु पर्ने र मेसिन चलेको प्रत्येक २ सय ५० घण्टापछि जम्मा हुन आउने भाडा वापतको रकम समितिले मेसिन सञ्चालकलाई चुक्ता गर्नुपर्ने लगायतका सर्तहरू समावेश गरिएका थिए ।

सडक निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि मेसिन सञ्चालक राजमल जाग्रीले पाउनुपर्ने एक करोड ११ लाख ५० हजार बराबरको रकम अझै पाउन सकेका छैनन् । आफूले पाउनुपर्ने रकम नपाएको भन्दै बारम्बार उपभोक्ता समिति, गाउँपालिका अध्यक्षलगायत विभिन्न पार्टीका नेताहरूलाई जानकारी गराउँदा समेत जाग्रीले पाउनुपर्ने रकम पाउन सकेका छैनन् । सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि मेसिन सञ्चालक राजमल जाग्रीले १५ सय ८० घण्टा मेसिन सञ्चालन भएको ७ हजार ५ सयप्रति घण्टाका दरले जम्मा हुन आउने रकम १ करोड १८ लाख ५० हजार रुपैयाँ हुन गयो । जसमध्ये ७ लाख रुपैयाँ मेसिन सञ्चालक राजमल जाग्रीले पेश्की वापत लिएका थिए भने १ करोड ११ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने भए पनि उपभोक्ता समितिले उक्त रकम भुक्तानी गर्न आनाकानी गरिरहेको छ ।

पटकपटक उपभाेक्ता समितिसँग रकम माग गर्दा पनि समितिले खातामा रकम नभएको हातमा करारनामा पत्र मात्रै थमाएको जाग्रीले बताएका छन् । करारनामा पत्रमा उल्लेख भएको जम्मा रकममध्ये ४० लाख २०७७ सालको असार मसान्तभित्र तिर्ने र बाँकी रकम आगामी वर्षभित्र तिर्ने व्यहोरा उल्लेख गरिएको छ । करारनामा पत्रमा उल्लेख भएबमोजिम ४० लाख रुपैयाँ असार मसान्तमा भुक्तानी गर्ने भनिएको भए पनि उक्त रकम जाग्रीले अझै पाएका छैनन् । जाग्रीले भने, ‘अषाढ मसान्तभित्रै ४० लाख मैले पाउनु पर्ने हो । तर, बारम्बार अनुरोध गर्दा समेत गाउँपालिकाले भुक्तानी दिएको छैन । भुक्तानी दिएपछि मिलाउँछु भनेर टार्ने गरेका छन् ।’

जाग्री भन्छन्, ‘सडक निर्माण गर्दा सडकको हेरचाह गर्ने लडेर गम्भीर घाईते हुँदा पनि समितिले बेवास्ता गरेपछि आफैंले व्यक्तिगत रुपमा उपचार खर्च गरेको छु । सडक निर्माण गर्ने क्रममा भाडामा ल्याएको डोजर पल्टेको र यसै विषयमा डोजर मालिकसँग भनाभन हुँदा ३ दिन अपहरणमा समेत परेको दुनियाँलाई थाहा छ ।’ समितिले मेसिन चलाउने जिम्मा लिएको भए पनि आफूले सहकारी तथा बैंकबाट ऋण लिएर तेल तथा अपरेटरको खर्च तिरेको उनले बताए । उपभोक्ता समितिले ऋणमा डुबाएर आफ्नो व्यवसाय समेत धरापमा परेको जाग्रीको भनाई छ।

के भन्छन् उपभोक्ता समितिका अध्यक्ष ?

यता उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विकले भने राजमल जाग्रीलाई रकम भुक्तानी भइसकेको बताएका छन् । वडा कार्यालयबाट विनियोजित रकमको ४४ लाखमध्ये १३ लाख ५० हजार र गाउँपालिकाको ८० लाखमध्ये २३ लाख भुक्तानी भइसकेको उनको भनाइ छ । बाँकी रकम कहाँ गयो भन्ने प्रश्नमा बिकले कर कट्टी, कन्जनटेन्सी, उपभोक्ता समितिको खर्चमा र पहिले सम्झौता भएको डोजरावालालाई भुक्तानी गरेको बताए । सुरुमा श्रीमती शारदा अध्यक्ष भएको भए पनि सुत्केरी भएपछि आफू अध्यक्ष बनेको बिकको भनाइ छ । आफूले कुनै बदमासी नगरेको र राजमल जाग्रीकै कारणले आफूमाथि लागेको आरोपबारे अनभिज्ञ रहेको बिकले बताए ।

आनन्दलालले राजनैतिक आडमा गाउँमा आएका विभिन्न योजनामा पैसा कुम्ल्याउने गरेको स्थानीयको आरोप छ । अध्यक्ष परिवर्तन भए पनि बैंकको खाता अझै पनि पुरानै समितिको नाममा छ । बिकले सूर्योदय माविका अध्यक्ष हुँदा पनि विद्यालयमा आएका योजनामा अनियमितता गरेको, लामो समयदेखि चुवावनमा निर्माण हुने लघुजलविद्युत आयोजनामा आएको रकम काम नगरी भुक्तानी गरेर आफैले चलाएको, ५ वर्ष अघि बलिसक्नु पर्ने विद्युत अायाेजना अलपत्र पारेर गाउँलाई अन्धकारमै राखेको स्थानीयको आरोप छ ।

नेकपाभित्रैबाट पेलिए जाग्री

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रका केही नेताहरूले आफूलाई विगतदेखि नै पेलेको जाग्रीले गुनासो गरेका छन् । वाईसिएल नेपालको पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका जाग्रीले पार्टीलाई निरन्तर आर्थिक, भौतिक र राजनैतिक सहयोग गर्दागर्दै पनि आफूलाई केहि नेताहरूले असहयोग गरेको बताए ।

सडककै काममा अपहरण

सडक खण्ड निर्माण कार्यका लागि समितिसँग सम्झौता भइसकेपछि निर्माणका क्रममा मेसिन पल्टिएको थियो । मेसिन पल्टिएको १ हप्ताभित्रै जाग्रीले अर्काे मेसिन लगाएर निर्माण कार्यलाई निरन्तरता दिएका थिए । ‘पल्टिएको मेसिन १ जना भारतीय नागरिक रेहान खानबाट भाडामा सम्झौता गरेर ल्याएको थिएँ । मेसिन पल्टिएपछि भारतीय नागरिक खानसँग विवाद भयो,’ उनले भने । खानले आफू र धनराज जोशीलाई भारतको पलियामा अपहरण गरेको र आफूलाई १३ लाख रुपैयाँ फिरौती बुझाउने शर्तमा छोडेको पनि उनले बताए । आफूले १३ लाख रुपैयाँ बुझाएर अपहरणमुक्त भएको जाग्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस