साढे ७ करोड खर्चेर बनेको सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो, कालोपत्रेमै उम्रियो दुबो

सुर्खेत :- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मंगलगढी चोक नजिक २०७३ सालबाट निर्माण गर्न शुरू गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्क भित्रको कालोपत्रे उम्किन थालेको छ भने पिचमाथि नै दुबो उम्रिएको छ ।

बसपार्क छेउमै होटल सञ्चालन गर्दै आइरहेका हिम्मत शाहीले भने, ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ । ठाउँठाउँमा कालोपत्रे उम्किसकेको छ ।’

वीरेन्द्रनगर–६ का राकेश पौडेलले भने, ‘कम्तिमा कालोपत्रे गरिएको स्थानमा त्यसरी दुबो नउम्रिनुपर्ने । ठेकेदार र नगरपालिकाको मिलेमतोमा यस्तो कमजोर निर्माण भएको हो । नगरपालिकाले जिम्मा लिने समयमा सबै जाँच गर्नुपथ्र्यो ।’

१५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य २ पटक म्याद थप गरी निर्माण भएको हो । २०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता गरेको कम्पनीले २०७६ कात्तिकमा नै बसपार्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
Advertisement

६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बसपार्क निर्माणमा ढिलाइ हुँदा लागत अनुमानभन्दा ६२ लाख बढी खर्च भएको छ । झण्डै साढे ७ करोड अर्थात् ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको हो । नगर विकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको जनाइएको छ ।

नयाँ बसपार्कमा यात्रुलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट छन ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले गाडी नचलेका कारण दुबो उम्रिएको बताए । उनले ठेकेदारले आफूलाई बसपार्क हस्तान्तरण गरेको १ वर्षभन्दा बढी भइसकेको बताउँदै मर्मत गरेर गाडी चलाइने बताए । उनले कोरोना त्रासपश्चात बसपार्क सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस