वामदेव अर्थमन्त्री र अध्यक्ष बन्‍ने हल्ला निराधार

काठमाडौं :-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले पदको लागि ६ बुँदे प्रस्ताव पेश नगरेको प्रष्ट पारेका छन् ।

पछिल्लो समय नेता वामदेवलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्ता छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको आरोप लागेको छ । ओली कित्तामा लागेकाले उनी आगामी मन्त्रिमण्डल हेरफेरमा उपप्रधानमन्त्री सहित अर्थमन्त्री र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेको समाचारहरु आइरहेका छन् ।

गौतमको सचिवालयले यी सबै समाचारहरु निराधार भएको दावी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै यी समाचारमा गौतमको गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । ‘आज केही अनलाइन माध्यमहरुमा क. बामदेव गौतम `आगामी महाधिवेशनबाट म अध्यक्षको दावेदार हु ´भन्ने शीर्षक राखी समाचार सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘क. वामदेव गौतमले साउन १३ गतेको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउनका निम्ति आफूले सकेसम्मको प्रयत्न स्वरुप ६ बुदे प्रस्ताव राख्नुभएको थियो । सोही प्रस्तावलाई आधार बनाउदै ‘बामदेवलाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी र पार्टीको आगामी महाधिवेशनमा अध्यक्षको दावेदार हुँ’ भन्नू भयो भन्ने भम्रपूर्ण समाचार प्रती दुख व्यक्त गर्दछु।’

गौतमका स्वकीय सचिव दिपक टमटामार्फत जारी सो विज्ञप्तिमा थप भनिएको छ, ‘साथै यस्ता निराधार समाचारहरुमा सत्यता नरहेको समेत जानकारी गराउँदछु । अब उपरान्त कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्नु हुन समेत सचेत गराउँदछु।’

प्रतिक्रिया दिनुहोस