नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग

नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी विज्ञप्तिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै कांग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ ।

कांग्रेसले शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस