दिदीबहिनीको दीर्घायुका लागि व्रत बसेर मनाइँदै ‘अटवारी’

काठमाडौं :-  पश्चिम नेपालका थारू समुदायले दिदीबहिनीको दीर्घायुको लागि मनाउँदै आएको पर्व अटवारी यो वर्ष पनि धुमधामका साथ मनाइरहेका छन्।

यो पर्व मनाउनको लागि सुदूरपश्चिम सरकारले ७ भदौमा सार्वजनिक बिदा समेत दिएको छ। सरकारले नै विदा दिएपछि पश्चिम नेपालका थारू समुदायमा थप उत्साह थपिएको बताउँछन् थारू अगुवा तथा थारू कल्याणकारिणी सभा कैलालीका उपसभापति माधव थारू।

उनका अनुसार यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशे औंसीपछिको पहिलो आइतबारका दिन मनाइन्छ।

अटवारी मूलतः थारू समुदायका पुरुषले मनाउने पर्व हो। पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका थारू समुदायले अटवारी पर्व मनाउने गरेको उनको भनाइ छ। प्रदेश ५ मा पनि यो पर्वको लागि सार्वजनिक विदा दिइएको छ।

अटवारीको अघिल्लो दिन शनिवार मध्य रातिमा दर खाएर यो पर्व शुरु हुन्छ भने आइतबार ब्रत बस्ने र साँझा पूजाआजा गरी रोटीको परिकार खाने चलन रहेको छ। यो पर्वमा दाजुभाइहरू आफ्नो दिदीबहिनीको आयु लामो होस् भन्ने मान्यता राखेर व्रत बस्ने चलन छ।

यो पर्वमा घर आँगन लिपपोत गरी दिनभरी रोटीको परिकार बनाइन्छ। यो पर्वमा अनदीको चामल अनिवार्य हुन्छ। अनदीको रोटीलाई सगुनका रुपमा दिन्छन्। साथै पुरी, सेल रोटी, ख्रुमा, बरिया लगायतको परिकार पकाउने चनल छ।

दोस्रो दिन बिहान ७ या ११ प्रकारका तरकारी (खरिया, पकौडा, सिध्रा माछा, चना, केराउ, हरियो साग, काक्रा लगायतको तरकारी पकाइन्छ।

अटवारी पर्व सामाजिक सद्भाव तथा भाइचारा सम्बन्धको लागि पनि मनाइन्छ। विवाह भएका छोरीहरूलाई सोमबारको दिन अग्रासन (ब्रत बस्ने ब्रतालुहरूले आफ्नो दिदीबहिनीको नाममा छुट्याएर राखेको खानेकुरा) पूजा गर्नुभन्दा पहिले पकाएको रोटी छुट्याउछन्, जसलाई थारू भाषामा (कहर्ना) भनिन्छ।

त्यही छुट्यार राखेको भाग बिवाहित चेलीबेटीलाई कोशेलीस्वरुप अग्रासन दिन जाने चलन रहेको थारू अगुवा तथा बुद्धिजीविहरूको भनाइ छ। बिवाहित छोरी माइतीको कोशेली (अग्रासन) लाई सम्मान स्वरुप लिन्छन्। यो कोशेलीले दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा पनि मानिँदै आएको छ।

थारू बुद्धिजीवी दिलबहादुर चौधरीका अनुसार अटवारी पर्वको विभिन्न किम्बदन्ती छन्। उनले किम्बदन्तीमा पाण्डवका माइला भाइ भीम वा भीवाँको पूजा गर्ने गरेको बताए।

पाण्डव भीम ‘भीवाँ’ आइतबारका दिन एक दानवको आहारा बन्न गएको र उनले त्यो दानवलाई मारेर गाउँलेलाई दानवको आतंकबाट मुक्त गराएको कहानी छ। त्यसैगरी वनवासमा रहेका बेला भीमले नै कैयौं बिपत्तिबाट र दुस्मनहरूबाट आफ्ना भाइहरूलाई बचाएको किम्बदन्ती पनि छ।

त्यस्तै महाभारतको लडाईको क्रममा दंगीशरणले पाँच पाण्डवसँग सहयोग मागेकोमा भीमले नै सहयोग गरेको ऐतिहासिक कहानी पनि छ। सोहीबेला भीवाँले रोटी पकाउँदा पकाउँदै  तत्काल लडाईमा जानु परेकाले रोटी एकातिर मात्र पाकेको र त्यसेको स्मरण स्वरूप अटवारीमा पनि पहिलो रोटी नपल्टाईकन एकातिरबाट मात्र पकाएर भीवाँका लागि छुट्याउने चलन छ। यो पर्वलाई थारू समुदायमा विजय उत्सवका रुपमा पनि मनाउने गरिएको छ।

यो वर्ष कोरोना महामारीको कारण सरकारले कैलाली जिल्लाभरि निषेधाज्ञा जारी गरेकाले अटवारी ब्रत बसे पनि दिदीबहिनीलाई अग्रासन दिन भने दाजुभाइहरू जान पाएनन्।

प्रतिक्रिया दिनुहोस