कोरोना रोकथामका लागि पाल्पामा निषेधाज्ञा

पाल्पा : कोरोना रोकथामका लागि पाल्पामा निषेधाज्ञा जारी भएको छ। शुक्रबार राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा आगामी १२ गतेसम्म जारी रहने छ।  निषेधाज्ञा जारी भएपछि पाल्पा सुनसान बनेको छ। बजार पसल, अत्यावश्यक बाहेकका सबै यातायात ठप्प छन्।

सरकारी तथा गैह्र सरकारी संस्थाका काम समेत रोकिएका छन्। तर अतिआवश्यक सरकारी कार्यालयका कामकाज भने सामान्य रुपमा चलिरहेका छन्।  सदरमुकाम तानसेन बजारमा नै एक जनामा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात, निजी सवारी साधन चलाउन पाइने छैन। अत्याबश्यक सेवाका सवारी साधन भने चल्न पाउने उनले बताए। बैंक तथा वित्तीय संस्था र सामाजिक संघ संस्थाहरू संचालन हुने छैनन्। खाद्यान्नसम्बन्धी पसल, फलफूल तरकारी दूध डेरी पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्न पाउने छन्।

प्रशासनबाट जारी आदेशको अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रजिअ न्यौपानेले बताए। संक्रामक रोग ऐन २०२० अनुसार सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीले जिल्ला वा जिल्लाको सीमित क्षेत्रमा मात्रै लागु हुनेगरी निषेधाज्ञा गर्ने अधिकार पाउने छन्।

यस्तै स्थानीय प्रशासन ऐन २०२८ अनुसार सरकारले निषेधाज्ञा जारी गरेमा सरकारी कार्यालयमा न्यूनतम कर्मचारीसहित कार्यालय चलाउने, अरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस