राप्रपाको चुनाव चिह्न गाई कि हलो ?

काठमाडौं :- राप्रपाको आन्तरिक बहस बाहिर ल्याउन त पङ्क्तिकारलाई मन थिएन, एउटा अनुशासित कार्यकर्ताको नाताले सम्बन्धित फोरममा नै आफ्नो धारणा राख्ने विचारमा थिएँ । तर, पार्टीभित्र केही विषयमा थप अन्यौल र जटिलता सिर्जना भएको, केही विषयमा भ्रम छर्ने काम भएकोले आफ्नो भावना राख्न सान्दर्भिक लागेको छ ।

पार्टी मुख्यतः निष्ठा, विचार, लगशीलता निरन्तरता र इमान्दारिताको जगमा बन्ने विषय हो, राप्रपा विषम परिस्थितिमा निर्माण भएको पार्टी हो, ०४६–४७ र ०६२–६३ पछिको कठिन परिस्थितिको घडीलाई पार गरेर हामी यहाँसम्म आई पुगेका छौँ ।

विशेष गरी ०६२–६३ को विषम परिस्थिति जुनबेला नेपालको हावापानी, झारपात, माटो त्यसमाथि पनि राजाले आफ्नै हातले दर्जनौँ पटक मन्त्री, प्रधानमन्त्री तथा विभिन्न लाभको पदमा आसिन गराएका व्यक्तिहरू समेत अब्बल गणतन्त्रवादी भइसकेको अवस्था थियो, तत्कालीन राजावादी राप्रपाले परिवर्तनलाई संस्थागत र आत्मासाथ गर्ने नाममा गणतन्त्रको झोला भिरिसकेको थियो, राजावादी हिन्दुवादी हुनु भनेको अछुत, प्रतिगामी, मण्डले वा कुनै जन्ममा श्राप परेर एउटा निरिह प्राणी बन्नुसरहको समय थियो । यस्तो कठिन परिस्थिति जुनबेला राजा हिन्दुराष्ट्र भन्दा जिब्रो थुतिने, मारिनुपर्ने समेतको अवस्था कायम थियो । यो विषम समयमा कमल थापालगायतका केही नेताहरूको नेतृत्वमा मुलुकमा सनातन हिन्दुराष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयताको सट्टा सुदृढ स्थानीय स्वायत शासनको पक्षमा राप्रपा नेपालको स्थापना भएको हामी सबैलाई थाहै छ । आज राजाको विषयमा, हिन्दुराष्ट्रको विषयमा हामी बोल्न लेख्न विचार राख्न पाउने जग त्यही राप्रपा नेपाल, राप्रपा नेपाललाई उचाइमा पुऱ्याउने कमल थापा र तमाम राष्ट्रवादी कार्यकर्ताले पुऱ्याएका हुन् ।

राप्रपा अहिले जुटेको छ, यो जुटको अन्तर्य पनि अहिले हेर्दा पहिला जोगाउन नसकेको फुटकै जगमा अडेको जस्तो भान हुन्छ । राप्रपा नेपाल र राप्रपा एकीकरण गर्ने सबै नेतृत्वगण कार्यकर्ता तपाईं हामी नै हौँ, हामी सबैले पार्टीको विधान नाम, झण्डा, चिन्ह त्यतिबेला नै महाधिवेशनमा स्विकार गरिसकेकै विषय हो, यो कुनै नयाँ बहसको विषय होइन । त्यसपछि एक निर्वाचन भएको अवस्था हो, यो निर्वाचनमा के उल्लेख्य परिवर्तन भयो र चिन्ह वा झण्डा परिवर्तन गर्नुपर्ने विषयको आधार निर्माण भयो भन्ने कुराको कतैबाट गहन चिन्तन मनन आउन सकेको छैन । अहिले नै हामीलाई यही चाहियो नभै हुँदैन भन्ने बालहठ मात्र कायम छ । यो कुरा प्राप्त गरेपछि पार्टी कसरी अगाडि बढ्छ भन्ने मार्गचित्र प्रष्ट नभैसकेको अवस्थामा पार्टीको सिद्धान्त विचार, आस्थालाई जनताको साथ लैजाँदा जनताले स्विकार्ने एउटा आधार स्तम्भमाथि नै प्रहार गर्दा पार्टी एकता कतै नियोजित वा नीति–नेतृत्व कमजोर पार्ने एउटा अस्त्रको रूपमा पो थियोे कि भनी आम हिन्दुवादी राजावादी राष्ट्रवादी नेपालीले बुझ्ने अवस्था आउन सक्छ । विधानमा हिन्दुराष्ट्र राजसंस्था चाहिन्छ भन्ने व्यवहारमा हिन्दुराष्ट्र प्राप्त गर्ने हतियारलाई निषेध गर्न खोज्नुले खुट्टा बाँधेर दैडिने खेल खेल्न लगाउनु वा सिकार खेल्न जाँदा नपड्किने हतियार प्रयोग गर्नु जस्तो मात्र हुन्छ, यस्तो विषम परिस्थितिमा संयमित तरिकाले पार्टी एकतालाई जोगाउँदै मजवुत पार्ने र कसैलाई उत्तेजित पार्ने, अनावश्यक दबाब श्रृजना नगर्ने, नगराउने काम राप्रपाको सबै तह, तप्काबाट हुन जरुरी छ ।

चुनाव चिन्हलगायत आधारपत्रको थप ब्याख्या गर्न त्रेय अध्यक्षहरूबाट राप्रपाका वरिष्ठ नेताहरू सम्मिलित ६ सदस्यीय सुझाव समिति कार्यदल गठन भइसकेको अवस्था छ । पार्टीका भरपर्दो नेताहरूको अगुवाइमा बनेको यो समितिले तोकिएको समयमै सबै कुराहरू निरूपण गर्नेछ भन्नेमा राप्रपाका सबै तहका नेता कार्यकर्ता विश्वस्त छन् ।

गाई कि हलो ?

राप्रपा एउटा आन्दोलनमा छ, पार्टी निर्माणको क्रममा छ । राप्रपा नेता कार्यकर्ताको लागि दुवै चिन्ह महत्त्वपूर्ण छन्, भावनात्मक सम्बन्ध छ । हामीले अहिले कुन चिन्ह छान्ने भन्दा पार्टीको पृष्ठभूमि, ०६२–६३ पछिको बदलिएको राजनीतिक परिवेश तथा भोलि जनतासमक्ष जाँदा औचित्यता पुष्टि हुन सक्ने चिन्ह रोज्ने आँट क्षमता र कौशल प्रदर्शन गर्न सक्नु सवब नेता कार्यकर्ताको कर्तव्य हो, ०४६र४७ पछि निश्चित रूपमा हलो लोकप्रिय चिन्ह रह्यो, किसानको आधार स्तम्भको रूपमा रहेको हलो चिन्हले लोकप्रिय मत पनि प्राप्त गरेकै हो । अहिले किसानहरूले हलोको सट्टा नयाँ प्रविधि प्रयोग गर्ने भएकोले नेपालको सबै स्थानाट हलो लोप हुने परिस्थितिमा छ । यस्तो अवस्थामा नयाँ पुस्ताले फोटोको हलो मात्र देख्ने र साँच्चैको हलो नदेख्ने परिस्थितिमा हलो चिन्हले न किसानको न अन्य कुनै वर्ग, क्षेत्र, लिङ्गको प्रतिनिधित्व गर्न सक्छ ।

यस्तो अवस्थामा आमा समानको गाई हाम्रो पार्टीको लागि वरदान सावित भएर आएको छ, यो परिस्थितिले दिएको उपहार हो, हाम्रो एजेन्डा स्थापित गर्ने प्रमुख हतियार पनि यहि हो, धार्मिक रूपमा गाईलाई नमान्ने अल्पसंख्यकहरूले पनि गाईको दूध खाने भएकोले आमाको स्वरूपमा मान्छन्, यो मानेमा ०६२–६३ पछि गणतन्त्रको बाछिटा परेको हलो भन्दा आमजनताको मन जित्ने सनातन हिन्दु राष्ट्रको प्रतीक गाई चिन्हले हाम्रो विचार सिद्धान्त र आदर्शको प्रतिनिधित्व गर्ने र पार्टी एकताको मर्म र भावनाको कदर गर्छ भन्ने पङ्क्रिकारको व्यक्तिगत धारणा छ । पार्टी एकताको आवश्यकता भनेको पार्टी सशक्त, प्रतिष्पर्धी बनाउने र एजेन्डा स्थापित गर्ने नै भएकोले गाई चिन्हको महत्त्वको गहिराई र यथार्थलाई बुझ्न आवश्यक छ ।

अहिलेको एकीकरणले स्वदेश तथा प्रवासका २६ देशसमेतका कार्यकर्ताहरूलाई उत्साहित बनाइरहेको, पार्टी प्रवेशमा वढोत्तरी भएको, अन्य पार्टी कार्यकर्ता पार्टीमा आउन आतुर रहेको र राप्रपा एउटा वैकल्पिक शक्ति बन्ने बाटोमा हिँडिरहेको अवस्थामा राप्रपाभित्रको केही आन्तरिक विवाद सतहमा आएकोले कार्यकर्तामा पुनः निराशा छाउने खतरा वढेको छ । कोभिडको कारणले पार्टी गतिविधिमा सिथिलता आइरहेको परिस्थितिमा हामी जनतासामु गएर जल्दाबल्दा समस्यासँग सात्क्षात्कार गर्नुपर्ने परिस्थितिमा आफ्नै किचलोमा रूमल्लिनु निश्चय नै दुःखद हो ।

वैकल्पिक शक्ति निर्माणको क्रममा जनताले राप्रपालाई वरण गर्ने परिस्थिति छ । यस्तो परिस्थितिमा यो जाग्दो पार्टीको विवाद निरूपण पार्टीको केन्द्रीय समिति अथवा महाधिवेशनमा लगेर आमकार्यकर्ताको भावना बुझेर समाधान गर्दा राम्रो सन्देश जान्छ, अब विवाद सतहमा पुगिसके पछि छलफल नगरी कुनै अमुक निकायबाट टुङ्गो लगाउनु भनेको आम कार्यकर्ताको भावनामाथि खेलबाड हो ।

यसर्थ अहिलेलाई महाधिवेशनमा लाने समय नभए केन्द्रीय समितिमै लगेर भए पनि उपयुक्त छलफल र आवश्यक परे प्रजातान्त्रिक ढंगबाट मतदान गराउने परिपाटी अँगालेर ‘वीन– वीन’ परिस्थितिको निर्माण गर्न सकिन्छ । बढि मत प्राप्त गर्ने पक्षलाई चुनाव चिन्ह र कम मत प्राप्त पक्षलाई पार्टीको झण्डा दिएर सबै समस्याको सधैंको लागि अन्त्य गरेर पार्टीलाई सशक्त ढंगबाट अगाडि बढाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस