के अब नेपालको आफ्नै फलाम खानी तयार होला त ?

काठमाडौं :- नवलपरासीको धौवादी फलाम खानीबाट फलाम निकाल्न सकिने देखिएको छ ।
नेपालले दृढ ईच्छाशक्ति सहित अघि बढेमा स्वदेशमा फलाम खानीले उल्लेख्य उपलव्धि दिने छ । चीनको सिचुआनस्थित इन्स्टिच्युट अफ मेटालजिकल जीओलजी एन्ड एक्स्प्लोरेसनले धौवादीबाट स्टिल र फलाम निकाल्न सकिने प्रारम्भिक रिपोर्ट पठाएको हो ।

गत वर्ष भदौमा ५ टन फलामको नमुना परीक्षणका लागि चीन पठाइएको थियो । उक्त नमुना धौवादी, राम्चे, पोखरी क्षेत्रमा संकलन गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चिनियाँ प्रयोगशालामा गरिएको परीक्षणमा ‘मेटालजिकल रिपोर्ट’ उत्साहजनक रहेको बताए ।
अब खानीमा कति फलाम छ भन्ने रिपोर्ट यसै साता आउने र अन्य प्रकृया अद्धि बढ्ने उनले बताए ।
यदी यो योजना सफल भएमा नेपालले करीब अढाई बर्ष पछि स्वदेशमै फलाम उत्पादन गर्नेछ ।

विभागका अनुसार चिनियाँ प्रयोगशालाले नेपालमा कोइला नभएकाले बिजुलीबाट फलाम पगाल्ने गरी कारखाना चलाउनुपर्ने सुझाव पनि दिएको छ ।

धौवादी देशकै सबैभन्दा ठूलो फलाम खानी हो । २ करोड टनभन्दा बढी फलाम निकाल्न सकिने अनुमान गरिएको खानीमा फलामको प्रतिशत कति छ भनेर ‘केमिकल एनलाइसिस टेस्ट’ रिपोर्ट आउन बाँकी छ ।

दैनिक ८ सयदेखि १२ सय मेट्रिक टन फलाम उत्पादन सकिने प्रारम्भिक निष्कर्ष अध्ययनले निकालेको छ । खानीमा पुग्न अहिले धमाधम सडक पनि बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस