नारायणी नदीमा पानीको बहाब बढ्यो, स्थानीयलाई सतर्क रहन आग्रह

चितवन :-  नारायणी नदीको पानीको बहाब बढ्दै गएको छ। नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । चितवनमा वर्षा नभएपनि देशका अन्य जिल्लाहरुमा निरन्तर वर्षा भएका कारण यसको असर नारायणी नदीमा देखिएको हो ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार देवघाट र नारायणगढ क्षेत्रमा नदीको सतह बढेर खतराको तहमा पुगेको छ । अहिले देवघाट क्षेत्रमा पानीको सतह ७.६ मिटर पुगेको छ ।यस क्षेत्रमा नदीको सतह ७.३ मिटर नाघेमा सतर्कता तह पार गरेको मानिन्छ ।

८ मिटरलाई खतराको तह मानिन्छ । सतर्कता विन्दु नाघेपछि नदी वरपर रहेका बासिन्दा र पश्चिम चितवनका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

नारायणगढ क्षेत्रमा पानीको सतह ११.३४ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटर सतहलाई सतर्कता तह मानिएको छ । नारायणी नदीमा पानीको बहाब अहिले निरन्तर बढिरहेको छ ।

भट्टराईका अनुसार नारायणी नदीको तह खतरातर्फ उन्मुख भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । उनले नागरिकलाई नदी आसपासमा नजान आग्रह गर्दै सचेतना अपनाउन समेत अपिल गरेका छन् ।हरेक वर्ष नारायणी नदीमा पानीको बहाब बढ्दा नदी वरपरका क्षेत्र र चितवनको पश्चिम क्षेत्र बढी डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस