थप ५२५ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौँ :- नेपालमा आज थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १४ हजार ७६९ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०९ जना संक्रमण मुक्त भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । जसमा ७३ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौताहट र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो।

प्रतिक्रिया दिनुहोस