पत्रकार बानियाँको रहस्यमय ढंगले निधन भएको भन्दै छानबिन गर्न महासंघको माग

काठमाडौं :- नेपाल पत्रकार महासंघले ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनको बारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रमेश विष्टले महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँको मृत्यु रहस्यमय भएको भन्दै सरकारसँग छानबिन गर्न माग गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघको शोक विज्ञप्ती

मिति : २०७७/४/२८

शोक विज्ञप्ती

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव

प्रतिक्रिया दिनुहोस