खाने होइन त हलुवाबेद ?

काठमाडौं :-    के तपाईंले हलुवाबेद खानु भएको छ ? खानुभएको भए कस्तो स्वादको हलुवाबेद खानु भएको छ ? सामान्यतया मानिसहरुको बुझाईमा काँचो हलुवाबेद टर्राे हुन्छ र पाकेको हलुवाबेद गुलियो हुन्छ । तर, सबै अवस्थामा यो बुझाई काम नलाग्न सक्छ ।
चिनियाँहरुले हलुवाबेदलाई विश्वव्यापी गराएका हुन् । चिनियाँ हलुवाबेद बढी टर्राे हुने गर्छ । तर, जापानीहरुले सोही जातको हलुवाबेदमा टर्राे नहुने प्रविधिको विकास गराए । हलुवावेद एक समशितोष्ण हावापानीमा पाइने फलफूल हो । नेपालमा धेरै पाइने हलुवाबेद गुलियो खालको हलुवाबेद हो । त्यो पनि पूरा नपाकेको अवस्थामा भने टर्राे हुने गर्छ । गुलियो बनाएको हलुवाबेद जापानको राष्ट्रिय फल पनि हो ।

चीनको प्राचीन फल
फलफूल विकास निर्देशनालयका फलफूल विकास अधिकृत धन बहादुर थापाका अनुसार हलुवावेदको उत्पत्ति चीनमा भएको हो । चीनमा ३००० वर्षदेखि हलुवावेद लगाउँदै आएको पाईन्छ । त्यसलाई गुलियो बनाउने प्रविधिको विकास भने जापानबाट भएको हो । जापानमा हालसालै ६०० वर्ष पुरानो हलुवाबेदको बोट फेला परेको पनि थापाले एक आलेखमा उल्लेख गरेका छन् ।
नेपालमा अहिले ४५१ हेक्टर क्षेत्रमा २४०१ मेटि्रक टन हलुवावेद उत्पादन हुने गरेको छ । नेपाली समाजमा हलुवाबेद मन पराउने र मन नपराउनेको संख्या समान जस्तै भएको विश्लेषण गरिन्छ । नेपालमा विशेष गरी काठमाण्डौ उपत्यकामा प्रायः पाईने हलुवावेद टर्रो नै हुन्छन । तर पनि काठमाण्डौका प्रायः जसोका घरको करेशाबारीमा टर्रो भएतापनि एक बोट शोभाका लागि रुख रोप्ने गरिन्छ । यसको मुख्य कारण नेवारी समाजमा तिहारको पर्वमा सगुनको रुपमा यो फललाई अनिवार्य रुपमा राखिन्छ । त्यसबाहेक कसैकसैले मदिरा बनाउनमा पनि यसको प्रयोग गरेको पाईन्छ ।
यो मानवशरीरको लागि बहुउपयोगी पौष्टिक खाना हो । यो मंसिरको सुरुदेखि पाक्न सुरु भएर पुष दोस्रो सातासम्ममा बोटबाट बिस्तारै यो निखि्रँदै जान्छ । हलुवावेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टाँसिएको हुन्छ । पौष्टिकताको हिसाबले यसमा ग्लूकोज र सन्तुलित प्रोटिन पाइन्छ । रासायनिक र औषधीय गुणका कारण अत्यन्तै महत्वपूर्ण मानिने यो फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ ।
स्थानको हिसाबले यो समशितोष्ण हावापानी हुने ठाउँमा खेती गर्न सकिन्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवाबेदको खेती गर्न सकिन्छ । समुन्द्री सतहबाट ८०० मि.देखि २००० मि. सम्म सफलतापूर्वक खेती गर्न सकिन्छ । हलुवाबेदको लागि १००-२०० घण्टा चिलिङ्ग -७.२ डिग्री भन्दा कम)पुगेमा फूल फुल्नको लागि पर्याप्त हुन्छ । त्यसैगरी १६-२२ डिग्री सेल्सियस औषत् तापक्रम भएमा फल उत्पादनको लागि राम्रो मानिन्छ । जापानी हलुवावेद ८००मि. भन्दा तल्लो क्षेत्रमा लगाउँदा फल नफल्न पनि सक्छ भने २००० मि. भन्दा माथि रोप्दा फल फले तापनि पाक्ने बेलामा उच्च क्षेत्रमा तापक्रम कम हुने हुनाले टर्रो नहुने जापानी हलुवावेदमा पनि टर्रोपना आउन सक्दछ र गुलियोपन पनि राम्रो आउँदैन ।

यो फल प्राचीन ग्रीक कथाहरुमा भगवानहरुको फलको रुपमा परिचित थियो । यो वनस्पती पतझर वनस्पती अन्तर्गत् पर्छ । यसको फलको रङ्ग हल्का सुन्तला पहेँलो, गाढा सुन्तला रातो तथा प्रजाति अनुसार फरक हुने गर्छ । यसको आकार १.५ देखि ९ से.मी. (०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ ।
टर्राे नहुने हलुवाबेदको नेपाल आगमन
टर्रो नहुने हलुवाबेद भने करिब १०० वर्ष पहिले तत्कालीन श्री ३ देव शमशेरको शासन कालमा नेपालमा आगमन भएको थापाले बताएका छन् । उनका अनुसार त्यो समयमा नेपालीलाई उच्च शिक्षा अध्ययनको लागि स्वीकृति प्राप्त भएपछि आठ जना नेपाली -क्या. जंग नरसिंह राणा, देव नरसिंह राणा, दीप नरसिंह राणा, बाल नरसिंह रायमाझी, क्या. भक्त बहादुर बस्न्यात, रुपलाल सिंह, बिचारमान सिंह र होम बहादुर रायमाझीहरु अध्ययनको लागि जापान गएका थिए । तिनै नेपाली विद्यार्थीहरुले पहिलो पटक टर्रो नहुने हलुवाबेद, जापानी कटुस, नील लहर फूल समशितोष्ण फलफूल खेती प्रविधि, गोदावरी फूल आदि भित्र्याएका हुन् भन्ने हिमालय शमशेर जबराको लेखमा समेत उद्धृत गरिएको छ ।
हलुवाबेदमा हल्का रुपमा एक साल बढी फल्ने र अर्को साल कम फल्ने स्वभाव हुन्छ । त्यसलाई नियन्त्रण गरी हरेक साल समान रुपमा फलाउनको लागि बाक्लो फलेको वर्षमा फल छाट्ने गर्नुपर्छ । फल छाट्ने कार्य निश्चित समयमा गर्नुपर्छ । फूल फूलेको २० दिन भित्रमा चिचिलो फल छाटेको खण्डमा वर्ष बिराएर फल्ने बानीलाई कम गर्न सकिन्छ । यसरी चिचिलो अवस्थामै फल छाट्ने गरेमा फलको आकार प्रकार पनि बढ्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस