प्रधानमन्त्रीको अभिव्यक्तिले ठोरीबासीमा नयाँ उर्जा

काठमाडौं :- ‘गाउँसभाले ठोरी गाउँपालिकाको २ नम्बर वडास्थित सीता गुफामा मन्दिर बनाउन पाँच लाख रुपैयाँ छुट्याउने निर्णय गर्‍याे, साेमबार नै प्रधानमन्त्रीले अयोध्या ठोरी क्षेत्रमा भएको बताउनुभयो, सायद यो संयोग भगवानकै अनुकम्पाले जुटेको हुनुपर्छ’, पर्साको ठोरी गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष रामप्रकाश कुवँरले भन्‍नुभयो ।

अहिले चितवन र पर्सामा पर्ने ठोरी क्षेत्रले विश्वको ध्यान तानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म ठोरी क्षेत्रमै भएको र अयोध्या समेत सोही क्षेत्रमा रहेको कुरा सार्वजनिक गरेपछि विश्वका हिन्दुधर्मालम्बीको ध्यान त्यता तानिएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले ठोरीबासीमा नयाँ उर्जाको सञ्‍चार भएको छ । ‘केही ऐतिहासिक तथ्य त ठोरीमा मानव बस्ती बसेदेखिनै थिए, तर पहिलादेखिनै अयोध्या भारतमै हो भनिएको कारण हामीले मुख खोल्न सकेका थिएनौं, अब प्रधानमन्त्रीले नै बोलेपछि हामीलाई खोज, अनुसन्धान र प्रचारप्रसार गर्ने बाटो खुल्यो’ – कुवँरले भन्नुभयो ।

ठोरी गाउँपालिका–२ मा सीता माताले तपस्या गरेको गुफा छ । ठोरीमा बस्ती बसेदेखिनै देखिएको सो गुफामा मन्दिर निर्माणका लागि ठोरी  गाउँ सभाले पाँच लाख रुपैँया विनियोजन गर्‍याे ।

‘हामीले यो सबै थाहा पाएर त हाेइन, तर गुफाको संरक्षण गरी मन्दिर बनाउन बजेट विनियोजन गर्‍याैँ, त्यो त ऐतिहासिक स्थल रहेछ’,-गाउँपालिका उपाध्यक्ष शान्तिमायाँ थिङले भन्नुभयो । सो गुफामा हरेक वर्ष मेला समेत लाग्ने गर्छ, मेला व्यवस्थापनका लागि यस वर्ष थप दुईलाख रुपैयाँ पनि विनियोजन गरिएको उपाध्यक्ष थिङले बताउनुभयो ।

ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको बेला यति महत्वपूर्ण कुरा सार्वजनिक हुनु ठोरीको लागि महत्वपूर्ण विषय भएको उपाध्यक्ष थिङले बताउनुभयो । ‘हामीलाई यो नयाँ आधार बन्यो, अब हामी तथ्य र प्रमाण जुटाउन लाग्छौँ’- उहाँले भन्नुभयो ।

ठोरीको वडा नम्बर २ मा सीता गुफा र वडा नम्बर ३ मा रामनगर रहेको वडाअध्यक्ष कुवँरले बताउनुभयो । त्यस्तै चितवनको माडी नगरपालिकामा अयोध्यापुरी र बाल्मीकि गुफा भएको उहाँले बताउनुभयो । यी सबै राम र सीतासँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भएको उहाँले बताउनुभयो ।

ठोरी २ का वडा सदस्य श्यामहरि शर्मा वडा नम्बर २ र ३ मा सीता रामसँग जोडिएका धेरै ऐतिहासिक र सांस्कृतिक तथ्य भएको बताउनुहुन्छ । ‘सीता गुफा र रामनगर मात्र हाेइन माडीदेखि ठोरी हुँदै भारतसम्म फैलिएको सोमेश्वर पर्वत श्रृखंला पनि यही क्षेत्रमा छ, सोमेश्वर पर्वतमा सीतारामले वन विहार गरेको धर्मग्रन्थमा पनि उल्लेख छ’- शर्माले भन्नुभयो ।

शर्माले सीता गुफामा सीताले आरधना गरेको शिवको शिला समेत रहेको बताउनुभयो । यसको संरक्षणका लागि मन्दिर बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । ‘अब मन्दिरको मात्र कुरा आएन, यस क्षेत्रको वृहत्तर विकास र खोज अनुसन्धानको काम पनि अघि बढाउनुपर्छ’ – उहाँले भन्नुभयो ।

ठोरी क्षेत्रलाई पर्साको केही पछाडि पारिएको र विकट क्षेत्र मानिन्छ । तर अयोध्यानै ठोरीमा भएको प्रमाणित भए ठोरीको कायापलट हुने निश्चित छ । त्यसैले यसको प्रमाण जुटाउन स्थानीयको सक्रियताको पनि त्यत्तिकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस