दाङमा ३८ वटा सामुदायिक विद्यालय गाभिए

दाङ :- दाङमा ३८ ओटा सामुदायिक विद्यालय गाभिएका छन् ।

स्थानीय तहले सामुदायिक विद्यालयलाई नीतिगत रुपमा एकआपसमा गाभ्ने अभियान चलाएपछि यहाँको तुलसीपुर क्षेत्रका ३२ ओटा र घोराही क्षेत्रका सात ओटा विद्यालय गाभिएका हुन् ।शिक्षा ऐनले तोकेको भन्दा न्यून विद्यार्थी भएका सामुदायिक विद्यालयहरु गाभिएको शिक्षा विकास तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले बताए । यो समाचार प्रदेश टुडेमा छापिएको छ।

‘धेरै विद्यालय शिक्षा ऐनले तोकिएको भन्दा न्यून विद्यार्थी भएकोले विद्यालय गाभिए (मर्ज) का छन्, केही भौगोलिक दृष्टिले पनि गाभिएका छन्’ उनले भने ।

सरकारले हिमाली क्षेत्रका सामुदायिक विद्यालयका एउटा कक्षामा ३०, पहाडी क्षेत्रमा ४० र तराई क्षेत्रमा कम्तीमा पनि ५० जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ ।

मर्ज हुने सामुदायिक विद्यालयमध्ये तुलसीपुर उपमहानगपालिकामा समायोजन हुने १३ ओटा विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेका थिए ।

जसमा तुलसीपुर ३ को भगवती प्रावि डाँडाखुटी, तुलसीपुर ४ को प्रावि बनहरी, तुलसीपुर ४ को जनजयोति प्रावि लामिदमार, तुलसीपुर ५ को फैजानेमस्तफा मदर्सा, तुलसीपुर ७ को प्रावि मोतिपुर, तुलसीपुर १४ रात्री प्रावि दलजितपुर र तुलसीपुर १५ को बालविकास प्रावि लुहाडबरामा विद्यार्थीको संख्या शून्य थियो ।

स्थानीय तहको विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन शिक्षा कार्यविधि–२०७७ अनुसार विद्यालय समायोजन गरिएको उनले बताए ।यसले सकारले तोकिएको मापदण्डमा विद्यार्थी संख्या पुग्ने र शैक्षिक गुणस्तरको पनि विकास गर्न सकिने इकाइको अपेक्षा छ ।

विगत छ वर्षदेखि जिल्लामा न्यून विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयहरुलाई मर्ज गर्ने तयारी गरिएपनि विविध कारणले हुन सकेको थिएन । तर अहिले स्थानीय तहले विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन शिक्षा कार्यविधि–२०७७ निर्माण गरेर त्यस्ता विद्यालयहरुलाई मर्ज गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस