समाजले नै मलाई कलम दियो – अमर बान्तु (अन्तर्वाता)

काठमाडौं :- गीतलेखन तथा सामाजिक कार्यहरुमा पनि आफूलाई सक्रिय बनाउँदै आएका अमरले गीतकार सङ्घको अक्षयकोष स्थापना गर्नका लागि पन्ध्र लाख रुपैयाँ प्रदान गरेर एक उदाहरणीय कार्य पनि गरेका छन् । बुबा लक्ष्मीप्रसाद राई र आमा वृन्दालक्ष्मी राईका ७ सन्तानमध्येका काइँला छोरा हुन् अमर । भोजपुरको दिल्पा नागींमा जन्म भई हाल ललितपुरको मानभवनमा बस्दै आएका अमरका कार्यहरुलाई श्रीमती भावना राई र एक छोरी अनि एक छोराले साथ दिइरहेका छन् । उनै कवि, गीतकार, साहित्यकार तथा सामाजिक व्यक्तित्व अमरसँग अबिसेक डाँगीले गरेको कुराकानीः-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
म व्यापारी मानिस भएको हुनाले हरतरह व्यवसायमा नै निरन्तर हुन्छु । जागिरमा छुट्टी हुन्छ तर व्यापारमा छुट्टी हुँदैन । त्यसैले यतिबेला उतिबेला भन्ने हुँदैन निरन्तर चलिरहेकै हुन्छ । कुनै पनि व्यक्ति सफल हुनलाई उसमा व्यवसायप्रतिको निरन्तरता, इमानदारिता, आत्मविश्वास अनि प्रतिबद्धता हुन जरुरी छ । चाहे ऊ जागिरे होस् या व्यवसायी । त्यसपछाडि हरेक व्यक्तिको आआफ्नो सोख हुन्छ । मेरो सोखचाहिँ गीत-सङ्गीत र कविता भएको हुनाले यही विधामा तल्लीन छु ।

अमर बान्तु को हो ?
मैले भोगेको जीवनलाई हेर्दा मलजल, सिहाल, पाएर ढकमक्क फुलेको गमलाको फूलको बोट त अवश्य पनि होइन म । चट्टानमाथि उम्रिएको पीपलको बोट हुँ जस्तो लाग्दछ, जसमा धेरै सङ्घर्षका कथाहरु विद्यमान छन् ।

साहित्यमा बढी रुचिको विषय के हो ?
गीत-कविता लेखिरहेको हुनाले सायद मेरो रुचि पनि यसैमा होला । पछि गीत-कविताबाट पूर्ण अभिव्यक्त हुन सकिएन भने अन्य लामो विधामा पनि रुचि होला ।

तपाईं कसका लागि लेख्नु हुन्छ गीत-कविता ?
म पहिला आफ्नै लागि लेख्छु । कारण, विषयवस्तु र आफूमा भएको भिन्नतालाई खुट्ट्याउनका लागि जब भिन्नता थाहा पाउँछु, समाजोपयोगी अनुभूत गर्छु, तब मेरोमात्र होइन यो समाजको पनि अंश हो है भनेर सार्वजनिक गर्छु ।

तपाईंले लेख्ने गीत-कविताको आधार के हो ?
म साहित्यकार अथवा लेखक थिइनँ तर हाम्रै समाजका रीति-कुरीति र भेदभावहरुले मलाई विश्वासका कलम दिए । म प्रायः फुटबल हेर्छु, दुवै टिम मेरो कोही पनि हुँदैनन् । जब खेल सुरु हुन्छ, एउटा टिम अलिक कमजोर महशुस हुन थाल्दछ, तब मेरो सपोर्ट कमजोर टिमप्रति भइहाल्छ । सायद आममानिसलाई यस्तै हुन्छ होला । कारण, मानवीय स्वभाव नै यस्तै हुन्छ कि निर्धाको पक्षमा उभिने । त्यस्तै, मेरा कलमहरु पनि समाजका निर्धा, दुब्ला, पिछडिएका, कुसंस्कार, विसङ्गति, बेथितिप्रति नै चल्ने गर्छ । मेरा गीत-कविताका आधार भनेको नै जहिले पनि निर्धाहरुका आवाजहरु हुन् ।

तपाईंलाई साह्रै मनपर्ने गीत-कविता ?
सकारात्मक सोच राखेर लेखेका सिर्जनाहरु सबै प्रिय लाग्छन् । नकारात्मक सोच भएका सिर्जनाहरु मन पर्दैन । कारण, त्यस्ता सिर्जनाले समाजलाई विखण्डन गर्छन् ।

तपाइलाईं सबैभन्दा मनपर्ने गीतकार, सङ्गीतकार र गायक/गायिका ?
हामी स्रष्टाहरु आफ्नो खुसीका साथै अरुको खुसीका लागि पनि त्यत्तिकै लालयित हुन्छौं । त्यसैले मेरो खुसीभन्दा अरुको खुसी घट्ला कि भन्ने पनि त्यत्तिकै चिन्तित हुन्छौं । त्यसैले म कसैको नाम छुटाउन चाहन्न सबै राम्रा छन् ।

तपाइलाईं वर्तमान समयमा आएका गीतहरुमध्ये मनपर्ने गीत ?
कुनै ढोकाबाट एक-एक जना मानिस आवत-जावत गरि रहेका छन् भने भन्न सकिन्छ कि फलानो आयो, फलानो गयो । तर, ह्वार्र एकैचोटी चेपाचेप गरेर आइरहेका, गइरहेका रहेछन् भने को आयो, को गयो पत्तै हुँदैन । गीत-सङ्गीतको छेत्र पनि अहिले विशाल बनेको छ । पहिला-पहिला एउटै रेडियो नेपालबाट एउटै गीत एकैदिनमा पटक-पटक सुन्नु पथ्र्याे । सीमित गीतकार, सीमित सङ्गीतकार, सीमित गायक/गायिका हुन्थे । त्यसैले सबै थाहा हुन्थ्यो । तर, अहिले त्यस्तो माहोल छैन । नेपाली सङ्गीतको धरातल विशाल बन्दै गइरहेको छ । कदम-कदममा प्रतिस्पर्धा छ । त्यसैले धेरै राम्रा गीत-सङ्गीतहरु आइरहेका छन् भने विभिन्न स्वाद दर्शक-स्रोताले पाइरहेका छन् जस्तो मलाई लाग्दछ ।

राम्रो गीत, राम्री युवती र राम्रो रक्सीमध्ये कुनलाई रोज्नु हुन्छ ?
तपाईंको सुन्दर प्रश्नका लागि धन्यवाद । कुन रोज्नु हुन्छ भन्नुभएको हुनाले मलाई सजिलो बनाइदिनु भयो । परिस्थितिअनुसार रोज्नु नै उपयुक्त हुन्छ होला तर कुन छोड्नु हुन्छ भन्ने प्रश्न सोध्नु भयो भने बडो कठिन हुन्थ्यो । कारण, यी सबै रोज्जा चिजहरु हुन् । सबै उस्तै मादक छन्, सेलिब्रेसनमा नभई हुँदैन ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन बर्जित छ भन्छन् । यहाँको विचारमा ?
हुन त यौनबिनाको संसार कल्पना पनि गर्न सकिँदैन तर यसको व्यवस्थापनचाहिँ त्यो समाजको मुख्य विषय हो । सबैभन्दा खोजीको विषय भएको हुनाले मिडियामा बढी बिक्री हुन्छ भने भद्दा प्रस्तुति अशोभनीय हुन्छ विम्बको रुपमा सुन्दर हुन्छ ।

गीत-कविताबाहेक अन्य विषयमा लेख्ने सोच बनाउनु भएको छैन ?
सोच बनाएर लेखिने होइन । हृदय तरङ्गित भएपछि लेखिने हो । गीत-कविताको माध्यमबाट पूर्ण अभिव्यक्त हुन सकिएन भने लामो विधामा पनि प्रवेश गर्न सकिन्छ होला।

तपाईंलाई आफ्ना गीत-कविता स्रोतामाझ पुर्याएपछि कस्तो महसुस हुन्छ ?
मेरो जीवनमा विभिन्न प्रतिकूल समयले हानेका चाबुकका सुम्लाहरु त्यति बेलासम्म दुखिरहन्छन्, जति बेलासम्म कसैले हौसलाका हातहरु दिएर उठाउँदैनन् । यस्तै, विभिन्न व्यक्तिको जीवनमा आइपरेका दुःख-पीडा कष्टहरु खील बनेर तबसम्म हृदयमा गडिरहेका हुन्छन्, जबसम्म ऊ कुनै माध्यमबाट थिलथिलाउन सक्दैन । यसरी मेरा जीवनका वेदनाहरु अक्षरांश बनेर स्रोता तथा दर्शकसामु पुग्दा मलाई स्वर्गीय आनन्दको अनुभूति महसुस हुन्छ ।

जीवन के हो ? गीत-कवितालाई कसरी परिभाषित गर्नु हुन्छ ?
जीवन एउटा अनन्त, अपुरो, अधुरो यात्रा हो भने कर्म उसको परिभाषा । गीत-कविता जीवनका रङ्गहरु हुन् भने जीवन स्वयम् एउटा क्यानभास हो । कसले, कसरी रङ्गहरुको संयोजन गर्दछ, ऊ त्यसरी नै खुल्दछ ।

परिवारबाट तपाईंको लेखाइमा कत्तिको सपोर्ट मिलेको छ ?
परिवारको सपोर्ट नभए कोही पनि केही पनि गर्न सक्दैन । मैले केही लेखिरहेको हुनाले पक्कै सपोर्ट छ ।

छुटेका केही छन् कि ?
म यस्तो इन्टरभ्यू दिइरहने आदत नभएको मानिसलाई भाइ अबिसेक डाँगीले पल्काउनु भएको छ आभारी छु । साथै, नेपालयन खबरका सम्पूर्ण परिवारप्रति नतमस्तक छु । साथै, नेपालयन पत्रिकालाई मेरो पनि अभिन्न अङ्गको रुपमा लिएको छु ।

प्रतिक्रिया दिनुहोस