सुस्मिताको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा सार्वजनिक

काठमाडौं :- सुस्मिताको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा सार्वजनिक गरिएको छ । हेटौँडा-४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गर्दै प्रहरीले सुस्मिता हत्याकाण्डमा संलग्न रहेका एकाघरका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई सार्वजनिक गरेको हो । २ असारमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा, सासू, नन्द र जेठी नन्दको संलग्नता देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार आर्थिक प्रलोभनमा परेर परिवारकै सदस्यहरूको संलग्नतामा सुस्मिताको हत्या भएको बताए ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउ माइती भएकी सुस्मिताको एक वर्षअघि हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भएको थियो । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र, भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए । घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोक्कियो । लगत्तै घटनास्थलमै उनको ज्यान गएको थियो । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् । पतीको मृत्यु भएको ६ महिना पुग्दै थियो । ६ महिनाको ‘बराखी छ, के–के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाए ।

प्रहरीका अनुसार सुस्मिताका पति रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ । रुपेन्द्रको मृत्युपछि उनले पाउने सवारी दुर्घटनाबापतको रकम, उनी कार्यरत क्लोजर सिस्टम इन्टरनेसन नेपाल प्रा.लि.बाट पाउने सेवासुविधा, सामाजिक सुरक्षा कोष र बिमा रकम कसले लिने भन्नेबारे परिवारमै विवाद भएको देखिन्छ । प्रहरीका अनुसार रुपेन्द्रको मृत्युपछि सुस्मितालाई परिवारले बारम्बार रकम लिनेदिनेबारे मानसिक यातना र सँगै ससुरा प्रकाशले यौन दुर्व्यवहारसमेत गरेको खुलेको छ ।

आर्थिक कारणसँगै ससुरा प्रकाशले आफ्नी बुहारी सुस्मितामाथि यौन दुर्व्यवहार गरेका कारण घटना बाहिरिने भन्दै यसलाई साम्य पार्न हत्याको योजना बनाइएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या
प्रहरीले जानकारी दिएको घटनाको विवरणअनुसार असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानुअघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाईरहेका थिए ।

सुस्मिता महिनावरी भएको कारण भान्छाकोठाको भुइँमा बसेर खाना खाँदै थिईन, सोही समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गरे । ससुराको प्रहारपछि भुइँमा लडेकी सुस्मितालाई नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भीर घाईते भएकी थिईन् । सुस्मिताले बचाउ भन्दै कराउन थालेपछि सासू तुलसा पनि भान्छाकोठामा आउँछिन् तर उनलाई चुपचाप बाबुछोरीले अर्को कोठामा गएर बस्न भन्दै सुस्मिताको हत्या गरेर आत्महत्या जस्तो घटना देखाउन प्रयास गर्छन् ।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर हत्या भएको कोठामा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउँछन्, भुइँमा लागेको रगत सफा गर्छन् र भित्रबाट चुकुल लगाएर आफूहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ । कोठा मिलाएर जिउमा र कपडामा लागेको रगत सफा गरेर भोलीपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरीसम्म घटना आईपुग्छ । प्रहरीले असार २ गतेबाट अनुसन्धान गरेर १२ दिनमा निष्कर्श निकालेको हो ।

प्रतिक्रिया दिनुहोस