बाँकेमा रितिँदै क्वारेन्टिन, घट्दै संक्रमित

काठमाडौं :- कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि बाँकेमा सञ्चालनमा रहेका क्वारेन्टिन रित्तिन थालेका छन् । क्वारेन्टिन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भइरहेका छन् । बाँकेका आठ वटा स्थानीय तहमा सञ्चालित ११४ क्वारेन्टिनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् ।

बाँकेमा हालसम्म १० हजार ६२४ जना क्वारेन्टिनमा बसेर घर फिर्ता भएका छन् भने ६८१ पुरुष र १३५ महिला गरी ८१६ जना मात्र क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतबाट आउनेको संख्यामा कमी आएसँगै क्वारेन्टिनमा बस्नेको संख्यामा पनि कमी आएको छ ।

कोरोना फोकल पर्सन श्रेष्ठले हालसम्म क्वारेन्टिनमा रहेका आठ हजार ८४२ जनाको आरडिटी परीक्षण गरिएको र २६९ जनालाई आरडिटी परीक्षण नगरी घर पठाइएको जानकारी दिनुभयो । बाँकेमा हालसम्म ३५० जनामा कोरोना संक्रमण भेटिएको छ भने दुईजनाको मृत्यु भएको छ । बाँकेका रहेका ११४ क्वारेन्टिनमा ६ हजार २०८ वटा शय्या छन् ।

भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न आठ स्थानीय तहले क्वारेन्टिन सञ्चालनमा ल्याएका थिए । पिसिआरका लागि ६ हजार ७५१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार १८२ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए । उनले भने, ‘संकलन भएका स्वाबमध्ये २१९ वटा स्याम्पलको जाँच प्रक्रियामा रहेको छ ।’

हालसम्म १९ महिला र २७४ जना पुरुष कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले पनि ६४ जना कोरोना संक्रमितले आइसोलेशन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । क्वारेन्टिनहरु खाली हुँदै गएको र आइसोलेशनमा रहेका विरामीहरु निको भएर घर फर्किन थालेपछि बाँकेलाई देशकै पहिलो कोरोनामुक्त जिल्ला घोषणा गर्ने तयारी थालिएको छ ।

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा कोरोना भाइरस संक्रमितहरु उल्लेख्य मात्रामा नभेटिनु र जिल्लाका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु निको भएर घर फर्किन थालेसँगै संक्रमितको संख्या न्यून भएपछि बाँकेलाई देशकै पहिलो कोरोना भाइरसमुक्त जिल्ला घोषणाको तयारी थालिएको हो ।

जिल्लामै कोरोनाको हटस्पट मानिएको नरैनापुरका क्वारेन्टिनहरु पनि खाली हुँदै गएपछि त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबारसम्म २७ जना कोरोना संक्रमितहरु मात्र जिल्लाका विभिन्न आइसोलेसन अस्पताल तथा सेन्टरमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको श्रेष्ठको भनाई छ ।

कोरोना संक्रमितहरु नथपिनु तथा संक्रमितहरु नियमितरुपमा निको हुँदै घर फर्किनुले कोरोनालाई हराउने बाँके जिल्ला देशमै पहिलो जिल्ला हुने कोरोना फोकल पर्शन श्रेष्ठको बुझाई छ । उनले भने, ‘हालसम्मको अवस्था हेर्दा जिल्लालाई कोरोना मुक्त गर्ने तयारी छ । तर, संक्रमित ह्वात्तै देखिन पनि सक्ने हुँदा अप्ठ्यारो हुनसक्ने आँकलन पनि गरिएको छ ।

पछिल्लो समय बाँके जिल्लाबाट दिनहुँ २०० बढी स्याम्पल संकलन गरिरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामी कोरोना भाइरस संक्रमण फैलिन नदिन र संक्रमितहरुको उचित व्यवस्थापनसँगै गुणस्तरीय उपचारमा खटिरहेका छौं । हामी सबैको अथक प्रयास र आम नागरिकको साथका कारण यो सफल हुन गइरहेको छ ।’

आगामी केही दिनभित्र जिल्लाका सबै सङ्क्रमितहरू निको हुने र त्यसपछि बाँकेलाई कोरोनामुक्त घोषणा गरेर थप सङ्क्रमितहरूको खोजी गरिने पनि कोरोना फोकल पर्शन श्रेष्ठले बताउनुभयो । ‘स्याम्पल जाँचका लागि हामीसँग अझै दुई हजार किट छ । कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्दै सम्भावित ब्यक्तिहरुको खोजी गर्न यसले थप मद्द गर्नेछ,’ फोकल पर्शन श्रेष्ठले भने ।

बाँकेमा पहिलो पटक गत वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित जोलाहनपूर्वाका ६० वर्षिय बृद्धामा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको करिब दुई महिनाभित्र बाँके जिल्लालाई कोरोनामुक्त जिल्ला घोषणा गरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस