दाङमा एमसीसी विरुद्ध प्रदर्शन, साम्राज्यवादी स्वार्थ रहेकोले खारेज गर्नुपर्नेमाग

दाङ :- अमेरिकी एमसीसी खारेजीका निम्ति क्रियाशील एमसीसी खारेजी युवा सञ्जालले आज दाङको बबई गाउँपालिका हंसपुरमा विरोध प्रदर्शन गरेको छ । विभिन्न एमसीसी विरोधी नाराहरुसहित उपस्थित युवाहरुको उपस्थिति रहेको सो कार्यक्रममा वक्ताहरुले विकासको नाउँमा देशलाई थप पराधीन बनाउँने परियोजना खारेज हुनुपर्ने बताएका थिए ।

विरोध कार्यक्रममा बोल्दै अभियन्ता प्रमोद धितालले विद्युत निर्यात गर्ने नाउँमा नेपालको जलविद्युतलाई निजिकरणको दिशामा लैजाने र साम्राज्यवादी स्वार्थको हितमा काम गर्दै देशलाई थप पराधीन बनाउने खेल अन्तर्गत एमसीसी भित्रिएको बताए ।

साथै उनले केहि सीमित व्यक्तिहरुका लागि एमसीसी बरदान भएपनि नेपालको देशको सार्वभौमिकता र बहुसंख्यक जनताको लागि घातक भएकोले यसलाई कुनैपनि हालतमा सदनबाट पास गर्न नहुने बरु नेपालबाटै फिर्ता पठाइदिनु पर्ने कुरा व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण विरबहादुर वलीले गरेका थिए । अभियानको अर्को कार्यक्रम आगामी शनिबार शान्तिनगरको चिराघाटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस