म भित्रको ‘म’ लाई चिन्ने अवसर पाएँ

काठमाडौं :- समय सधैं सफल भएर अघि बढ्ने गर्छ । कहिले घाम कहिले पानी हावा, हुरी त कहिले आँधीबेहरी सबै परिस्थितिलाई छिचोल्दै अघि बढ्छ र त हरेक अवस्थामा सफल हुन्छ । समयलाई नै चुनौती दिदै सफलताको यात्रामा भाग दौड गरिरहेको म । दिन प्रति दिन कोरोनाको दर्दनाक आतङ्क र त्रास बढिरहेको छ । विकसित राष्ट्रहरूमा पनि ठूलो महामारीको रूप लिएको छ कता कता मनमा डर लागिरहेको थियो। नेपालमा पनि कोरोनाले डेरा जमाई सक्यो हिजो सानोमा विकास उन्मुख देश भनेर निबन्ध लेखेको याद छ अझै पनि विकास उन्मुख नै छ। आफैलाई प्रश्न गर्छु के मेरो सपना पूरा नहुने हो र ???

तर कोरोनाले मनमा डर त्रास भएता पनि लकडाउनले मेरो जीवनमा सकरात्मक प्रभाव परेको छ। सबै भन्दा ठूलो कुरो त आज सम्म जिउन पाएको छु। मनमा हिम्मत र साहस छ कि म मेरो पुस्ताको पहिचानलाई चिनाउने सपना पूरा गर्न सक्छु। आज धेरैलाई लकडाउनको समय धेरै भएर दिन बिताउन गाह्रो भइरहेको होला तर अहि लक डाउन खुकुलो पनि भएको छ सुरक्षित भएर अाफ्नो कार्य तिर लागिरहेको छु।

हामी प्रत्येक बिहान उठ्ने त गर्छौ। किन ? यही प्रश्न मैले यतिबेला आफैलाई पनि सोधेँ, म हरेक बिहान किन उठ्छु ?? सबैको मनमा निन्द्रा पूरा भएर उठ्छु, उज्यालो भएर उठ्छु, रात सकिएर उठ्छु, काम गर्नलाई उठ्छु जस्तो लागिरहेको होला! तर लकडाउनले मलाई पृथक तरिकाले सोच्ने अवसर दिलाएको छ। जब बुझे त्यो दिनबाट म हरेक दिन मेरो न्वारनमा दिएको नामलाई पहिचानमा परिणत गर्न उठ्ने गर्छु। लाखौ सपनालाई उजागर गर्ने अवसर दिनको लागि उठ्ने गर्छु। किनकि यदि हामी सफल हुन चाहन्छौ भने खुसी बाँड्न सक्नु पर्छ । मान्छे एउटै मात्र यस्तो विशिष्ट प्राणी हो जसले अरूको लागि बाँच्न सक्छ।
यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। पत्रकारिताको काम सबै दिनहरु
फिल्डमा नै बितेको छ ।

बाहिरको माहोल निकै शान्त देखिन्छ। तर पनि धेरैजना बहाना बनाएर बाहिर निस्केको देख्छु। अचम्म लाग्छ , विश्व हाम्रो स्वस्थ्यमा चिन्तित छ । अस्पतालमा खटिएका डाक्टर हाम्रो स्वास्थ्य प्रति चिन्तामा देखिन्छन् । चोकचोकमा खटिएका राष्ट्र सेवक हाम्रो चिन्तामा देखिन्छन् तर हामी आफ्नो लागि चिन्तित छैनौं। सबै आफूमा सचेत हौ राष्ट्र आफै सुरक्षित हुने छ।

के थाहा? सपना पूरा हुनु अघि नै यो संसारबाट बिदा लिनुपर्ने पो हो कि! तर, सकरात्मक सोच लिएर अघि बढ्ने मान्छे म। मलाई त यो लकडाउनले एक हिसाबले खुशी नै ल्याएको छ। तर धेरै पछि यतिबेला आफ्नै घरमा, आफ्नै मान्छेहरुको माझमा दिन बितिरहेको छ। त्यसैले म खुशी पनि छु। अरूहरुलाई पनि महसुस होस् न हाम्रो त्यागहरु, हाम्रो मनभित्रको सधैंको लकडाउन।
यो अवसरमा मैले पुन म भित्रको ‘म’ लाई चिन्न अवसर पाएँ।

बच्चा वेला देखि नै साह्रै चन्चले र चकचके स्वाभावको म आकाशमा उडेको पिलेन हेरेर ममीसँग साेध्थे रे – ममी म ठूलो भएपछि त्यस्तै आकाशमा उड्नेछु भनेर। आखिर समयको चक्र न हो, बालापन जस्तो कहाँ अहिले हुँदो रहेछ र! समय बित्दै गयो, सपना नयाँ नयाँ कोरिदैँ गए रत अहिले पत्रकारितामा बामे सर्दै छु । आकाशमा उड्छु’ भन्ने सोच बनाउने वैज्ञानिक पनि पहिलो चोटी धुरीबाटै खसे हाेलान्! कति असफल भए हाेलान् , तर पनि मान्छेले हावामा उड्ने सपना माया मारेनन् , र नै त संसारमा हवाईजहाज बन्यो। जीवनमा ठक्कर खानेहरुले नै इतिहास लेख्छन्। सपनाहरु पुरा गर्ने नाउँमा, कति सपनाहरु अधुरो नै रहे होलान्। आज केही नपुगे पनि समय चक्र हो। बिस्तारै राम्रो कुराको लागि पनि समय अवस्य आउनेछ भन्ने लाग्छ।

कोरोनाबाट सुरक्षित हुने एक मात्र उपाय लक डाउननै हो । सरकारले लक डाउन हटाएपनि हरेक नागरिकले आफुले आफैलाई लक डाउनमा राख्नु पर्छ । कहाँ जाने, नजाने, के गर्ने, नगर्ने आफ्नै लक डाउन संहिता बनाएर अघि बढ्नु पर्छ । लक डाउन खुलेसंगै हाम्रा ब्यक्तिगत उत्तरदायित्वहरु पनि बढ्नेछन । त्यसैले कोरोनाबाट बचौ र बचाउ।

प्रतिक्रिया दिनुहोस