दाङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

दाङ :-  दाङमा क्वारेन्टिनमा बसेका एक युवकको शनिबार मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बसेका प्युठानको माण्डवी गाउँपालिका–४ आपचौरका १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनुभयो ।

उनी यही जेठ १२ गते बंगलाचुलीका साथीहरूसँग भारतको नयाँ दिल्लीबाट आएर क्वारेन्टिनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको थियो ।

सो अस्पतालले कोरोना संक्रमित मात्रै राख्ने भनेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको भएपनि त्यहाँबाट समेत फिर्ता पठाएपछि रुपन्देहीको बुटवल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको अध्यक्ष वलीले बताउनुभयो ।

उनको कोरोना परीक्षणका लागि जेठ २१ गते स्वाब संकलन गरेर परीक्षणका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाए पनि अझै रिपोर्ट नआएको वलीले बताउनुभयो । उनलाई गाउँपालिकासँग समन्वय गरी प्युठानको माण्डवी लैजाने तयारी गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस