कोहलपुर शिक्षण अस्पतालको इमरजेन्सी र ओपिडी सेवा बन्द , १४ जना क्वारेन्टाइनमा

काठमाडौं :- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको छ । अछामबाट सोमबार दिउँसो ल्याइएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

‘अछामबाट ल्याइएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिलेलाई इमरजेन्सी र ओपिडि सेवा बन्द गरेका छौं,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले भने, ‘अहिले एकप्रकारले अस्पताललाई बन्द गरेर अब के गर्ने भनेर छलफलमा जुटेका छौं ।’

दिसा रोकिएर हेलिकोप्टरमार्फत ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा सोमबार साँझ पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । अहिले अस्पतालबाट कोहीलाई बाहिरबाट भित्रसमेत जान दिइएको छैन भने भित्रबाट बाहिरसमेत आउन दिइएको छैन ।

महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टरसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालका अनुसार गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उनको उपचारमा संग्लन डाक्टर, नर्सिङ कर्मचारी र सहयोगी गरी १४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस