हेपिएको औषधी म घिरौला

काठमाडौं :- अथाह जमिन भएका हाम्रा ठूलोबाले आज कागती पनि ल्याएर रोपे, अम्बा,केरा,उखु,मेवा,आप,लिच्ची बारीको पुर्वी भागमा हुर्किँदै छन् अनि हामी साग सब्जी भने पश्चिम बारी तिर। कहिले काही ठूलबा ठुलीआमासँगै हामी भएतिर आउदै गोडमेल गर्छन् म लहराएर छत मा पुगिसके त्यसैले मेरो वास्ता खासै गर्दैनन् । ठूलोबाले आज “हेर ठुली अब यो घिरौला यो बर्ष खाएपछि झाल काटदिए हुन्छ ” भनेर भने, ठुलीआमाले पहिला खाउ क्यारे अनी हेरौला भन्दै दुई चारवटा खुर्सानी टिप्न लागिन्।

कहिले काहि नाती,छोराबुहारी आउदा सबै तरकारी टिप्छन तर मलाई बेवास्ता गर्दै हिड्छन्, एक दिन मेरो फोटो खिचेर बुहारीले आफ्नो फेसबुकमा “आइ हेट दिस” भन्दै राखेकी रहेछिन भिण्डी, खुर्सानीले मलाई यो कुराले खुबै गिज्याइरहे। साना केटाहरुले मलाई टिपेर दाउराको ससाना चारवटा खुट्टा बनाइ मेरो अघि पछि गाडे अनी मलाइ बोका बनाएर काट्दै रमाइलो गरे। कति घिरौला त झालमै सुकेर मर्छन् अझ सुकेको घिरौलाको त आन्द्रा भुँडी झिकेर आहा यो जालो ले त क्या मज्जाले मयल मिचिदो रैछ भन्दै शरीरको सबै कुना कुनामा पुर्याउँछन्। कालो हाँडी पनि सेतो बनाउन घिरौलाकै जालो चाहिँने अनी भाडा माझे पछी भने मलाई कालो बनाइ मिल्काउने ।

कहिलेकाहि त मलाई गालिमा पनि घुसाउन थालेछन् आफ्नो झगडामा मलाई साधन बनाएर आेइ घिरम्ले, घिरौलानाके, घिरौला जस्तो कुरा नगर है भन्दै मेरो मजाक उडाउने गर्छन् । बुडी आज के तरकारी बनायौँ आफ्नो बुडीलाई भोकाएका बुडाले सोध्छन् अनी बुडातिर मुसुक्क हाँस्दै बुडीले घिरौला पकाछु बुडो भनेपछि त्याहाँ फेरी झगडा पर्छ , कतै आमा छोराको झगडा ,कतै दिदी भाइको झगडा, कतै बुडा बुडीको झगडा, म त झगडाको कारण पनि बन्न थालेछु । कसैले त मलाई मन पराएर आफ्नो भान्सामा लगेर धोइधाइ पारेर तरकारी बनाइ खाने पनि गर्छन् अनि कसैले मलाई धोएर फ्रीजमा अरू तरकारीहरू संगै राख्छन् तेतीबेला भने म खुसीले रमाउछु । एकदिन त पत्रिका पढ्दा पढ्दै अचानक ठूलो बा आएर मेरो झाललाई मसारमुसुर गर्न थाले अनि ठुलीआमा आइ अचम्म पर्दे के हो बुढा घिरौलाको झाललाई त खुबै स्याहार गर्दै छौ त भनिन् । बुढाले पत्रिका लिदै त्यहाँ लेखिएको कुरा पढ्दै बुढीलाई सुनाउन थाले ” बुडी यो त काइदाको चिज रैछनि।

ल यहाँ सुन् ,क्युकरबिटेसी फेमिलिमा पर्ने यो तरकारी स्वास्थको लागि बुहुदै महत्वपुर्ण छ। घिरौलामा भिटामिन ए र कार्बोहाइड्रट प्रयाप्त पाइन्नुका साथै लिपिड, मिनेरल तथा यनटिअक्सिडेन्ट पनि पाइन्छ ।यो Mn,Cu, vit C,vit B5 Mg,K जस्ता भिटामिन मिनेरलको राम्रो स्रोत मानिन्छ भने आखा रोग, चिनी रोघ,रक्तअल्पता, छाला रोग, तथा माइग्रेन हेडयक जस्ता रोगबिरुद्द उपयोगी मानिन्छ। सुबास सापकोटा कृषि विज्ञ,हेर त विज्ञहरूले पनि पत्रिकामा यस्तो लेख्न थालेछन्। भनेपछि घिरौला त औषधी पो रच त । बुढाले यस्तो भनेपछि म त खुसीले गदगद नै भए , तल फलेर हरिया भएका अरू साग सब्जीले पनि बुढाको कुरा सुनेर नाक खुम्च्याउँदै थिएँ। पत्रिका, समाचारमा मेरो महत्व हेर्न,पढ्न थाले पछि त म आजकल धेरैको भान्सामा पाक्न थालेको छु ।

आजकल त फर्सीको मात्र हैन घिरौलाको पनि मुन्टो खान्छ्ननि ,मिठै हुदो रैछ ” भन्दै अरूसँग गफ लगायतकी ठुलीआमाले भनेपछि मैले आनन्दको सास फेरे।
मलाई सधै गिज्याउने खुर्सानी म संगै थाल मा बस्दा रिसाएर झनै पीरो भएको थियो।
घिरौला खाऔँ स्वस्थ रहौँ ।
प्रशान्त पाण्डे, बुटवल 

 

प्रतिक्रिया दिनुहोस